पथरीशनिश्चरे /उत्तरपूर्वी मोरङका ६ वटा पालिकाहरुको समन्वयमा क्यान्सर रोग हुनबाट जोगाउन जनचेतना सहित क्यान्सरको उपचारमा सक्रियता बढाउने अभियान अघि बढेको छ ।

समुदाय, सरकार र नीजि क्षेत्रको सहकार्यमा नगरपालिकाहरुमा उर्लाबारी, पथरीशनिश्चरे, लेटाङ, रतुवामाई तथा गाउँपालिकाहरुमा मिक्लाजुङ र कानेपोखरीले ‘क्यान्सर सूचना केन्द्र सञ्चालक समिति’ गठन गरी अभियान अघि बढाएका हुन् ।

मानिसको मृत्युको प्रमुख कारकका रुपमा दिनदिनै बढ्दै गएको क्यान्सर रोगका विरामीहरुको तथ्याङ्क संकलन गरी सूचना केन्द्रमा राख्ने र उनीहरुको शुलभ एवम् प्रभावकारी उपचार तथा रोग लाग्न नदिन खानपानमा सचेत गराउने योजना ल्याउने यसको मुख्य लक्ष्य बनाइएको छ ।

सो योजना अनुरुप उर्लाबारीको अरनिको अस्पतालको समन्वयमा केही समय अघि समिति निर्माण भयो । सो अस्पतालका प्रवन्ध निर्देशक चिरञ्जिवी चुडाल संयोजक रहेको ६ वटा पालिकाका जनप्रतिनिधिहरु समेतको ९ सदस्यीय समिति निर्माण गरी कार्ययोजना बनाउने क्रम अघि बढेको हो ।

‘क्यान्सर हुनबाट बच्न बालीनालीमा रासायनिक विषादी, मल नहाल्ने सहितका सचेतनाका कार्यक्रम सहित उपचारको प्रभावकारिता बढाउने हाम्रो लक्ष्य हो ।’- चुडालले क्यान्सरको कारकतत्वको निगरानी सम्बन्धी जोड दिँदै भने ।

जस अन्तर्गत समितिको पथरीशनिश्चरे नगरपालिकामा बुधबार भएको बैठकमा जिल्ला स्वास्थ्य डिभिजन प्रमुख ज्ञानबहादुर बस्नेतले खुसी व्यक्त गर्दै भने ‘नीजि क्षेत्रको चासोमा स्थानीय निकायले यसखाले कार्यक्रम ल्याउनु स्वास्थ्य क्षेत्रको लागि प्रभावकारी कार्यक्रम बन्छ ।

यस्तो देख्दा ज्यादै खुसी लाग्यो ।’ पथरीशनिश्चरे नगर प्रमुख दिलिपकुमार राई सहितले क्यान्सर रोग नियन्त्रणका लागि नीजि क्षेत्र र पालिकाहरुसँग सहकार्य बढाएर जाने कुरामा आफुले थप समन्वय गर्ने बताए ।

ती पालिकाहरुका वडावडाबाट क्यान्सर पीडीतहरुको तथ्याङ्क संकलन गरी उनीहरुको उपचारमा जोड दिने कार्य अघि बढाउने समेत बैठकमा निर्णय भएको छ । प्रत्येक पालिकाहरुबाट १,१ जना स्वास्थ्यकर्मीलाई क्यान्सर हुनबाट जोगिने जनचेतनाका लागि तालिम दिएर वडावडामा पठाउने समितिको बैठकले निर्णय गरेको छ ।

उनीहरुमार्फत पहिलो चरणको क्यान्सर रोगी खोजपड्तालका लागि भीआइए परीक्षण गरी उपचारका लागि अस्पतालसम्म पुर्याउने काम हुनेछ । ‘क्यान्सर खोज्ने क्रममा नसर्ने खाले रोगहरुको समेत समग्र तथ्याङ्क सोही बेला संकलन गर्दै एकीकृत कार्यक्रम बनाउने पनि लक्ष्य हो ।’- पथरीशनिश्चरे नगर स्वास्थ्य संयोजक मुरारी आचार्यले यसको मर्मबारे थप प्रष्ट्याए ।

सरकारी र नीजि स्वास्थ्य संस्था तथा समुदायको सहकार्यमा रोगको प्रभावकारी उपचार र रोगको रोकथामका वार्षिक कार्ययोजना बनाइने विषयमा छलफल भइरहेको छ । जस अन्तर्गत, रोग सर्भेक्षण सम्बन्धी फारम भराउन आमा समूह, सामुदायिक वन समूह, क्लब, महिला स्वास्थ्य स्वयमसेविकाहरुको सञ्जाललाई समेत उपयोग गर्ने बारे बैठकमा छलफल भयो ।

बैठकमा, मिक्लाजुङ गाउँपालिकाका वडाध्यक्ष वुद्धिलाल निरौला सहितले क्यान्सरको पहिचान गरी उपचार गर्ने यसखाले पालिकाहरुको सहकार्यलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

पथरीशनिश्चरे नगरपालिका उपप्रमुख यमुना विष्ट वास्तोलाले पाठेघर सहितको क्यान्सरबाट महिलाहरु बढी पीडीत बनेकाले यसखाले सहकार्यले महिला वर्गमा झनै राहत मिल्ने प्रतिक्रिया दिइन् । ‘यसखाले सहकार्य प्रभावकारी र दिगो योजना ल्याउने तथा कार्यान्वयन गर्ने दर्विलो निकाय बनोस् ।’ उनले भनिन् । समिति ०७५ असार २० गते गठन भएको थियो ।

नसर्ने रोगबाट ६० प्रतिशत मृत्यु :                                                                                                                                                                                                                        नसर्ने रोगमा पर्ने क्यान्सर रोगको आक्रमण दिनदिनै रफ्तारमा बढिरहेको छ । मुटुको रोग, रक्तचाप, मधुमेह, दम र क्यान्सरबाट कुल मृत्युमध्ये ६० प्रतिशत मृत्यु हुने गरेको तथ्यांक छ ।  विश्व स्वास्थ्य संगठनका अनुसार सन् २००८ मा विश्वमा क्यान्सर रोगबाट ७८ हजार मानिसको मृत्यु भएको थियो भनें सन् २०१८ मा आइपुग्दा त्यो संख्या १ करोड २० लाख पुगेको छ ।