दमक/ गर्भ निरोधक चक्की गर्भ नरहोस् भन्नका लागि सेवन गरिने औषधी हो । जुन चिकित्सकको सल्लाह र सुझाब अनुसार मात्र प्रयोग गर्नु हुन्छ । तर अहिले यो चक्की किराना पसलमा पाईने मिठाई जस्तै गरि औषधि पसलेहरुले खुलम खुल्ला बिक्रि बितरण गरिरहेका छन् ।
गर्भ निरोधक चक्की किन्न चिकित्सकको प्रेस्क्रिप्सन अर्थात सिफारिस चाहिँदैन र यसमा कुनै उमेर समूह पनि चाहिँदैन । सामान्य हिसाबले यो औषधिले गर्भ बस्न दिँदैन भन्ने सुनेकै आधारमा मानिसले यी औषधिलाई चाउचाउ वा चक्लेटझैं आफैं प्रयोग गरिरहेका छन् ।
प्राय गरेर यस्ता चक्की प्रयोग गर्ने वा किन्न आउनेहरु अविवाहित किशाेर र किशाेरीहरु रहेको औषधि व्यवसायीहरु बताउछन् ।
स्कुले वा कलेजको पोषाकमै आएर अनि चाउँचाउ र चकलेट मागे जस्तै गरि गर्व निरोधक चक्कीको माग गर्ने किसोर किसोरीहरुको संख्या बढेको औषधि व्यवसायीहरु बताछन् । दमक चोकमै रहेको दर्पण फार्मेसीका प्रोप्राईटर आरबि थापा भन्छन् ‘हामी जो आउछ उसलाई बिना जिज्ञासा अनि बिना चिकित्सकको सिफारिस नै गर्भ निरोध चक्की दिन्छौ ।’ थापाले यसमा कुनै रोक छेक र धेरै सोधी खोजी गर्न समेत आवश्यक नरहेकोले यसरी सहज रुपमै बिक्री गरिएको बताए ।
व्यवसायीहरु भन्छन् ‘अधिकांश दिनहरु यस्तै चक्कीको बिक्रिबाट आफ्नो व्यवसायको थालपन वा बोहनी हुने गरेको छ ।’चिकित्सकको सिफारीस वा सल्लाह बिना नै यस्ता औषधि बेच्न पाईदैन । तर किराना पसलमा नै पाउन सक्ने स्थिती आउन लागी सकेको अवस्था आइसकेकोको छ ।
फाईदा भन्दा बेफाईदा बढि
‘असुरक्षित शारिरीक सम्बन्ध गरेको ७२ घन्टाभित्र ‘इमर्जेन्सी पिल’ खाएमा गर्भ बस्दैन भन्ने आम मान्यता बनेको छ । यस्ता पिल्स जथाभावी सेवन गर्दा महिलाको रजस्वला गडबड हुनुका साथै प्रजनन क्षमता नै कमजोर हुन सक्छ ।
आकस्मिक
अहिलेको पुस्ताले फाइदा मात्रै बुझ्ने र त्यसले ल्याउने समस्यालाई बेवास्ता गर्दै आएका छन् कतिपय अवस्थामा हेलचेक्य्राइँ पनि देखिएको छ । आकस्मिक गर्भनिरोधक चक्की खाने वा अन्य तरिकाले गर्भपतन गर्नुलाई सहजै लिने डरलाग्दो प्रवृत्ति छ युवाहरूमा । गर्भपतनले शरीरमा गर्ने नोक्सानीबारे सचेत नहुँदा धेरैको स्वास्थ्य जोखिमउन्मुख भइरहेको छ ।
दमकको निम्स अस्पतालका चिकित्सक डा. मुकेश शाह भन्छन् । ‘परिवार नियोजनसम्बन्धी परामर्श, औषधिको मात्रा र खाने विधि, गर्भावस्थाको सामान्य ज्ञान, यसका जटिलताका बारेमा जानकारी लिएर मात्रै आकस्मिक गर्भपतन चक्की सेवन गर्नु बुद्धिमानी हुने छ ।
‘आकस्मिक गर्भनिरोधक चक्की लिनुअघि स्वास्थ्य अवस्थाबारे जानकारी लिनु जरुरी छ । लगातार यसको प्रयोगले पछि स्वास्थ्यमा जोखिम बढाउँछ । हर्माेनसँग सम्बन्धित औषधि भएकाले हर्माेनमै गडबड ल्याउन सक्छ । सामान्य शारीरिक प्रक्रियालाई यो औषधिले अनियमित बनाएर गर्भपतन गराउने भएकाले स्वास्थ्यमा जोखिम हुन सक्छ ।’ डां शाह भन्छन् ‘पटक-पटक शरीरका नियमित प्रणालीमा बाह्य अवरोध सिर्जना गरिदिँदा मानसिकदेखि शारीरिक स्वास्थ्यसम्म जोखिम आइपर्न सक्छ ।
यही कारण धेरै शहरी महिलामा मानसिक समस्या आइसकेको छ ।’ यसका प्रयोगकर्ता महिलामा मुटुरोग भएमा वा भएर भल्भ फेरेको भएमा ज्यान नै जोखिममा पर्ने सम्भावना हुने चिकित्सकहरुको भनाई छ । त्यसैगरी अल्सर, प्रेसर भएमा यसले बढाउने र माइग्रेन समस्या निम्त्याउन सक्ने समेत हुन सक्छ ।’
‘सन् २००३ देखि नेपालमा गर्भपतन कानुनी छ । यसबारे नेपालका अधिकांश महिलाले थाहा पाएका छैनन् । अविवाहित युवतीले गर्भपतन गर्नु सामाजिक रूपमा गलत ठानिने भएकाले पनि ज्यान जोखिममा राखेर आफूखुसी काउन्टरबाट औषधि किनेर ‘मेडिकल एबोर्सन’ गराउनेहरू बढेका छन् ।’ ‘पटक-पटकको गर्भपतन अझ जोखिमपूर्ण हुन्छ । डां शाहको भनाई छ ।
होला त नियन्त्रण र अनुगमन
औषधी पसलमा विभिन्न कम्पनीका गर्भनिरोधक चक्की सहजै पाइन्छ । डाक्टरको प्रेस्क्रिप्सन बिनै यो औषधी किन्न र सेवन गर्न पाइन्छ । गर्भनिरोधक औषधी किन्नु भनेको सिटामोलजस्तै सामान्य कारोबार जस्तो भएको छ ।
यो औषधी कस्ले किन्यो, कतिवटा किन्यो, कुन प्रयोजनका लागि किन्यो ?यसको कुनै रेकर्ड राखिरहनुपर्दैन । राख्ने गरेको पनि पाइएको छैन । ब्लडप्रेसरको औषधी सबै औषधी पसलमा पाइदैन । तर, गर्भनिरोधक चक्की जुनसुकै औषधी पसलमा पाइन्छ ।
यो औषधीमा दोब्बर फाइदा हुने गरेको मूल्य सूचीबाट प्रष्ट हुन्छ । गर्भ निरोधक औषधी प्रयोगकर्ताले औषधीका बारेमा सोधखोज समेत गर्ने गर्दैन । गरेकोपनि पाइएन । उनीहरुलाई औषधी भए पुग्ने तर साइड इफेक्ट अर्थात त्यसको असरबारे जानकारी लिने नगरेको बताइन्छ ।
नेपाल औषधि व्यवसायी महासघं मेचिका उपाध्यक्ष गौतम गुप्ताले कसैले केहि नभनेको र सरकारले समेत खुल्ला छोडिदिएका कारण औषधि व्यवासायीले मनलाग्दी तरिकाले गर्भ निरोधक चक्की बेच्ने गरेको बताउछन् । ‘ मिडियाले भने यस्ता चक्कीको सेवान गर्ने फाइदाका बारेमा मात्र बढि प्रचार गरिदिएका कारण पनि यसको माग र प्रयोग बढेको उपाध्यक्ष गुप्ताको भनाई छ ।
स्ता चक्कीको प्रयोगले सहजता बनाइदिएको भएपनि अविवाहित किशारीमा भएको अल्पज्ञानका कारण शारिरिक र मानसिक समेत असर पर्न सक्ने भएकाले यसरी खुल्लाम खुल्ला बिक्रिमा कडाई गर्ने योजना रहेको दमक नगरपालिकाका स्वास्थ्य संयोजक इन्द्र अर्यालले बताउछन् ।
‘गुनासा नआएपनि हामी औषधि पसल अनुगमन गछौ ’ अर्यालले भने हामी कलेजका विद्यार्थी बिच गर्भनिरोधक चक्कीको फाईदा र बेफईदाका बारेमा अन्तरक्रिया समेत गरेर यसको रोकथाम गर्ने छौँ, अर्यालले बताए ।