पथरीशनिश्चरे/ नेपाल अपाङ्ग महिला संघ मोरङले अपाङ्गगता भएका व्यक्तिहरुलाई स्थानीय तहको नीति निर्माणमा सहभागि गराउनु पर्ने प्रावधानका बारेमा जिल्लाका स्थानीय तहमा अभिमुखीकरण अभियान सञ्चालन गरेको छ ।

आइएफइएस नामक गैरसरकारी संस्थाको सहयोगमा ‘अधिकारका लागि अभियान प्रभावकारी नीति निर्माणका लागि अपंगता भएको महिलाहरुको सशक्तिकरण’ परियोजना अन्तर्गत मोरङका ५ वटा पालिकामा यो कार्यक्रम सञ्चालनमा आएको छ ।

पथरीशनिश्चरे, सुनवर्षी, लेटाङ, सुन्दरहरैंचा नगरपालिका र ग्रामथान गाउँपालिकामा परियोजना अघि बढेको संघकी जिल्ला सचिव मीना आचार्यले जनाइन् ।

जसमध्ये पहिलो चरणमा पथरीशनिश्चरे र ग्रामथानमा अभिमुखिकरण कार्यक्रम भएको र अन्यमा हुने क्रममा रहेको छ । यस क्रममा विहीवार पथरीशनिश्चरे नगर कार्यपालिकाका सदस्यहरुमाझ अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।

जिल्ला अध्यक्ष भीमा खतिवडाले स्थानीय तहमा बन्ने हरेक समितिमा अपाङ्गगता भएका व्यक्तिहरुलाई समेत समावेश गराउनु पर्ने राज्यको नीतिलाई अवलम्वन गराउनु पर्ने प्रष्ट्याइन् ।  पथरी शनिश्चरे नगरपालिका उपप्रमुख यमुना बिष्ट बास्तोलाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा वडाअध्यक्ष, कार्यपालिका सदस्य, विषयगत शाखाका प्रमुख सहितको सहभागिता रहेको थियो ।

संघको तर्फबाट सो नगरका लागि विद्या लुईटेल सामाजिक परिचालकका रुपमा रहेकी छन् । यो ८ महिने परियोजना रहेको उल्लेख छ ।

लेटाङमा कृत्रीम सामग्री :
उता, सीवीआर विराटनगरको सहयोगमा लेटाङ नगरपालिकाले अपाङगता भएका ३४ जनालाई कृत्रिम सामग्री बितरण गरेको छ । जसमा ट्राईसाईकल, एल्बो लठ्ठी, आधुनिक जुत्ता, वाकर, बैशाकी र कृत्रीम खुट्टा बितरण गरिएको नगर प्रमुख शंकर राईले जनाए । ४ लाखको लागतमध्ये लेटाङ नगरपालिकाले २ लाख सहयोग उपलब्ध गराएको थियो ।