पथरीशनिश्चरे/तराइबासी हिन्दु समुदायले मनाउँदै आएको छैठ पर्वलाई सबै जातजातीको साझा पर्व बनाउनका लागि पहाडी समुदायको अगुवाईमा मोरङको पथरीशनिश्चरेमा सद्भावनापूर्ण सहकार्यमा छैठ सम्पन्न भएको छ ।

त्यहाँ त पहाडे समुदायको अगुवाई र बाहुल्यतामा विगत २० वर्षदेखि छैठ पर्व मनाइने गरिएको छ । छैठ समितिका अध्यक्ष समेत पहाडे समुदायका छन् । मंगलबार साँझ अस्ताउँदो सूर्यलाई र बुधबार विहान उदाउँदो सूर्यलाई अर्घ दिएर छैठको पूजा सम्पन्न भएको छ ।

साँझ आयोजित औपचारिक कार्यक्रममा बोल्दै पथरीशनिश्चरे नगरपालिका उपप्रमुख यमुना विष्ट वास्तोलाले छैठ पर्वले सामाजिक सद्भाव सिर्जना गरी सबैको मन असल र इमान्दार बनाउन मद्धत पुगोस् भनी शुभकामना दिइन् ।

यो वर्ष पनि पथरीशनिश्चरे १ पथरीस्थित भुल्के पुछारमा निर्माण गरिएको त्यहाँको पोखरीमा स्थानीय मधेसी र पहाडे दुवै समुदायका हजारौं मानिसहरु सहभागि भएर सवैको सामुहिक पर्वका रुपमा छैठलाई मनाएका हुन् । त्यहाँ पूजा गर्नेहरुको संख्या पनि पहाडे समुदायको उल्लेख्य रहेको छ ।

त्यहाँ मधेसी समुदायले बढी घाट बनाएको भएपनि नजिकमा बसेर पूजा गर्नेहरुको संख्या समेतलाई हेर्ने हो भनें पहाडे समुदायको संख्या बढी देखिन्छ । पहाडे समुदायले भनें पञ्चेबाजा समेत बजाएर उल्लासका रुपमा पूजाआजा गर्दैआएका छन् ।

छैठ पर्व मनाउने र पर्व मनाएको हेर्नेहरुको संयुक्त उपस्थितीले धार्मिक पर्यटनका साथसाथै जातीय सद्भाव बढाएको त्यहाँको छैठ सूर्य कुण्ड समितिका अध्यक्ष गंगाप्रसाद सुवेदीले बताए । उनले हिन्दु धर्मकै एक पर्व भएकाले छैठमा सबै जातजातीको सहभागिता रहनु आवश्यक समेत रहेको जनाए ।

पहाडे र मधेसे समुदायका बीचको दुरीलाई कम गर्न यसखाले सहकार्यले घटाउन थालेको स्थानीय गोपाल शर्माको ठहर छ ।

०५५ सालमा स्थानीय सामाजिक एवम् धार्मिक अभियन्ता हेमा ढुंगाना (हेमानन्द गिरी) र उनकी आमा तीला ढुंगानाको पहलमा पोखरीको बीचमा कुण्डको काठको जट निर्माण गरी व्यवस्थित पूजाआजा थालिएको हो । ०६२ सालमा समिति खडा भई पोखरी निर्माण गरेर संस्थागत रुपमा छैठ मनाउन थालियो ।

हेमाको नेतृत्वमा त्यहाँ पहाडे समुदायका सयौंले एकैठाउँ सामुहिक घाटमा सूर्यको उपासना गर्ने गरेका छन् । त्यहाँ कृत्रिम रुपमा निर्माण गरिएको पोखरीको डिलमा घाट बनाएर वसेर सूर्यको उपासना गर्नेहरुका लागि ठाउँ साँघुरो बन्दै गएको छ ।

वर्षेनी धार्मिक पर्यटनका हिसावले समेत मानिसहरुको भिडभाड बढ्ने गरेकाले ठूलै ठाउँ आवश्यक पर्दै गएको देखिन्छ वर्षेनी छैठ कार्यक्रमलाई व्यवस्थित बनाउँदै लाने क्रममा यस वर्ष पोखरीको बीच भागमा रहेको काठको जटमा छैट माताको ४ वटा प्रतिमा समेत राखिएको छ ।

नगरको शनिश्चरे, हसन्दहतर्फपनि उसैगरी खोला, नदी, तलाउ तथा जलासयमा छैट पर्व मनाइएको छ ।

सूर्यको उपासना गर्ने छैठ पर्व मनाउने क्रममा पूर्वी मोरङको उर्लाबारीस्थित मावा खोला किनारमा पनि पहाडे समुदायको सहभागिता भएको छ । त्यहाँ २ सय बढी घाट निर्माण गरिने र उत्कृष्ठ घाटलाई पुरस्कृत गर्ने काम मैथिली सेवा समाजले गर्दै आएको छ ।

जिल्लाको बेलबारीस्थित लोहन्द्रा, सुन्दरहरैंचाको गछिया, सुन्दरहरैंचा र इटहरीको सिमानाको बुढीखोलामा पनि उसैगरी भव्यतापूर्वक छैठ मनाउने काम भएको छ ।

झापातर्फ रतुवा खोलामा मैथिली सेवा समाजले ५ सयको हाराहारीमा घाट निर्माण गरेर भव्य रुपमा छैठ सम्पन्न गरिएको समाजका दमक सचिव विक्रमकुमार शाहले जनाए । त्यहाँ पनि पहाडे समुदायको उल्लेख्य सहभागिता छ । साँस्कृतिक कार्यक्रम सहित छैठ पूजाको क्रम अघि बढेको थियो ।

मावा, कन्काई, विरिङ, मेची लगायतका नदी, खोला तथा जलाधारहरुमा पनि छैठ पर्व मनाउन मंगलबार बेलुका अस्ताउँदो सूर्यको आराधना गरी वुधबार विहान उदाँउदो सूर्यलाई अर्घ दिन स्थानीय रातभर जाग्राम बसेका थिए ।