लहान/ सप्तरीको पश्चिम उत्तरी क्षेत्रमा पर्ने सुरुङ्गा नगरपालिका–१ शिशुवारीमा स्थानीय गाउँलेहरूले चन्दा उठाएरै पछिल्लो ६ वर्षदेखि स्नातक तहसम्म अध्यापन हुने क्याम्पस सञ्चालन गरिरहेका छन् ।

सिरहा र उदयपुर जिल्लाको छिमेकी समेत रहेको शिशुवारी गाउँका बहुसङ्ख्यक विपन्न परिवारका विद्यार्थीले आर्थिक अभावमा उच्च शिक्षाबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले ६ वर्षदेखि चन्दा उठाएरै सञ्चालन गरिरहेको क्याम्पस सञ्चालक समितिका अध्यक्ष राजकुमार राउतले बताए ।

अध्यक्ष राउतका अनुसार त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा शिशुवारी क्याम्पसमा स्नातक तहतर्फ चार वर्षे शिक्षा सङ्काय र १०+२ तर्फ वाणिज्य तथा शिक्षा विषयको अध्यापन भइरहेको छ ।

जिल्ला सदरमुकाम राजविराज, सिरहाको लहान र उदयपुरको गाईघाट तीन वटै ठाउँमा विपन्न विद्यार्थीले पढ्न नसक्ने भएपछि गाउँमै क्याम्पस संचालन गरिएको क्याम्पसका संस्थापक अध्यक्ष रामबहादुर राउतले सुनाए ।

गाउँमा क्याम्पस सञ्चालनका लागि स्थानीय गाउँलेले व्यक्तिगत रूपमा १० हजार रुपैयाँ नगददेखि तीन लाख रुपैयाँसम्मको जग्गा दान दिएका छन् ।

स्थानीय नारायणप्रसाद पराजुलीले अहिलेको बजार मूल्य अनुसार करिब तीन लाख रुपैयाँ बराबरको दुई कट्ठा जग्गा क्याम्पसको नाममा रजिष्ट्रेशन गरिदिएका छन् भने स्थानीय गाउँले, सांसद्, छिमेकी उदयपुर र सिरहाका मनकारीहरुले १० हजार रुपैयाँदेखि ५१ हजार रुपैयाँसम्म नगद सहयोग गरेको अध्यक्ष राउतले बताए ।

अध्यक्ष राउतका अनुसार क्याम्पस संचालनका लागि सुरुङ्गा नगरपालिका क्षेत्रका सामान्य किसानदेखि सरकारी सेवामा रहेका कर्मचारी, सर्वसाधारण, शिक्षक, विद्यालयले आर्थिक सहयोग गरेका छन् ।

क्याम्पसका लेखापाल ज्ञानेन्द्र धमलाका अनुसार स्थानीयले ६ वर्षको अवधिमा १३ लाख नगद, सुरुङ्गा नगरपालिका कार्यालयबाट १० लाख, १ नं. वडा कार्यालयबाट डेढ लाख र २ नं. बाट ५० हजार आर्थिक सहयोग गरेका छन् ।

‘क्याम्पसको आफ्नै भवन पनि छैन, स्थानीय जनता मा.वि.ले बनाइदिएको भवनमा दाताहरुले गरेको आर्थिक सहयोगको भरमा क्याम्पस चलाइरहेका छौं’ क्याम्पस प्रमुख धनबहादुर कटुवालले भने ‘शिक्षकहरूले समयमा तलव नपाए पनि दुःख झेलेरै नियमित कक्षा सञ्चालन गर्दैछौं ।’ प्रमुख कटुवालका अनुसार स्नातकतर्फ नेपाली, अङ्ग्रेजी र जनसङ्ख्या विषय र १०+२ तर्फ शिक्षा र व्यवस्थापन सङ्कायको कक्षा चलाउन तीन पूर्णकालीन र १० जना आंशिक शिक्षकले मिहिनेत गरिरहेका छन्

। ‘पछिल्लो साउनदेखि असोजसम्मको कसैले पनि तलब पाएका छैनौं’ उनले भने ‘गाउँठाउँकै लागि हो भन्दै पढाउँदै छौं ।’ अहिले क्याम्पसमा स्नातकतर्फ एक सय ५० र +२ तर्फ तीनसय गरी साढे चार सय विद्यार्थी पढिरहेको प्रमुख कटुवालले उल्लेख गरे ।

दूरदराजको गाउँमा चन्दा उठाएर क्याम्पस सञ्चालन गरिरहेका स्थानीय गाउँलेलाई शनिबार २ नं. प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साहले शिशुवारीस्थित क्याम्पसमै पुगेर सम्मान गरेका छन् ।

प्रदेश सभा सदस्य गोविन्द न्यौपाने, रुवी कर्णसहितको उपस्थितिमा मन्त्री साहले क्याम्पसका लागि आर्थिक सहयोग गर्ने ८५ जनालाई सम्मानमात्र गरेनन्, क्याम्पसका लागि एक करोडको लागतमा भवन समेत बनाइदिने प्रतिबद्धता व्यक्त गरे ।

‘क्याम्पसको व्यवस्थित पुस्तकालय, शौचालयका लागि आगामी मंसिरभित्र २५ लाख रुपैयाँ उपलब्ध गराउने छु’ मन्त्री साहले भने ‘आर्थिक वर्ष २०७६÷०७७ मा क्याम्पस भवन निर्माणका लागि एक करोड रुपैयाँ छुट्याइने छ ।’

क्याम्पसद्वारा आयोजित सम्मान कार्यक्रममा सासद्द्वय न्यौपानेले क्याम्पसका लागि स्थानीय गाउँलेहरूरुको सल्लाह अनुरुप योजना बनाएर कार्यान्वयनका लागि अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे भने सांसद् कर्णले गाउँमा शैक्षिक संस्था चलाउन गाउँलेहरुले गरेको उच्च योगदानको सम्मान गर्दै क्याम्पसको भौतिक तथा शैक्षिक विकासका लागि आफूले प्रदेश, सङ्घ र स्थानीय गाउँलेको पुलको काम गर्ने विचार व्यक्त गरिन् ।

कार्यक्रममा स्थानीय जनता मा.विका पूर्व विद्यार्थी तथा सप्तरीको बलान बिहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतले आधुनिक प्रविधिबाट शिक्षण सिकाइ सञ्चालनका लागि गाउँपालिकाबाट तत्काल ६ वटा प्रोजेक्टर उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।