विराटनगर । यमपञ्चक अर्थात् तिहार (दीपावली) सुरु हुन एक साता बाँकी छँदै पूर्वी सीमावर्ती नाकाबाट भारतीय सयपत्री फूलको अवैध तस्करी तीव्र बनेको पाइएको छ ।

सरकारले स्वदेशी किसानको संरक्षणका लागि भारतीय सयपत्री आयातमा रोक लगाए पनि तस्कर समूहले नयाँ शैली अपनाउँदै सीमापारिबाट फूल नेपाल भिœयाएर ‘कोल्ड स्टोर’ (शीतभण्डार) मा लुकाउने धन्दा चलाएको खुलेको हो ।

विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. ३ गण हेडक्वार्टर कङ्कालिनी मोरङबाट खटिएको टोलीले शनिबार विराटनगरबाट करिब २५ लाख रुपैयाँ मूल्य बराबरको अवैध सयपत्री फूल बरामद गरेपछि यो सङ्गठित जालो बाहिर आएको हो ।

सशस्त्र प्रहरी बल मोरङका प्रमुख एवम् एसपी गेहेन्द्रबहादुर भण्डारीका अनुसार कुनै पनि भन्सार तथा बिलबिजक विना भारतबाट अवैधरूपमा भिœयाइएको उक्त फूल विराटनगरस्थित ‘ग्लोबल कोल्ड स्टोर’ र ‘राधाकृष्ण कोल्ड स्टोर’ मा भण्डारण गर्न लैजाँदै गर्दा नियन्त्रणमा लिइएको हो ।

“तिहारका बेला फूलको अत्यधिक माग हुने भएकाले भारतबाट अवैध रूपमा सयपत्री फूल ल्याएर शीतभण्डारमा राख्न लागिएको गोप्य सूचना पाएका थियौँ” एसपी भण्डारीले भने, “सोही आधारमा कोल्ड स्टोर लैजाने क्रममा फूल नियन्त्रणमा लिएका हौँ । सरकारले आयातमा पूर्ण प्रतिबन्ध लगाएकाले बरामद गरिएको सम्पूर्ण फूल कानुनबमोजिम नष्ट गरिनेछ ।”

यसरी चल्छ तस्करी र भण्डारणको जालो

अनुसन्धानका क्रममा तस्कर समूहले सीमावर्ती खुला नाकाको फाइदा उठाउँदै जोगबनी र सुनसरीका विभिन्न नाकाबाट साना सवारी तथा सिटी सफारी (ई-रिक्सा) प्रयोग गरेर फूल नेपाल छिराउने गरेको पाइएको छ । प्रारम्भिक सूचनाअनुसार विराटनगरकी सीता साहलगायतका व्यक्तिहरूले ‘क्यारिङ’ मार्फत् यो अवैध कारोबार सञ्चालन गरिरहेका छन् ।

तिहार सुरु हुनुभन्दा एक हप्ताअघि नै सस्तो मूल्यमा भारतबाट फूल ल्याउने र तिहारको मुख्य दिन महँगोमा बेच्ने योजना तस्करहरूको थियो । त्यसका लागि उनीहरूले स्थानीय कोल्ड स्टोरहरूसँग सम्झौता नै गरेर १० वटा माला भण्डारण गरेबापत १५ रुपैयाँका दरले भाडा तिर्ने गरी राख्ने तयारी गरेका थिए ।

कहिले र किन लगाइएको थियो प्रतिबन्ध ?

पुष्प व्यवसायमा नेपाललाई आत्मनिर्भर बनाउने र स्वदेशी किसानको लगानी सुरक्षित गर्ने उद्देश्यले कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको ‘प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र’ ले दुई वर्ष अघिदेखि नै भारतबाट सयपत्री फूल आयातका लागि दिइने ‘क्वारेन्टिन अनुमति’ (इम्पोर्ट परमिट) रोकेको थियो ।

भारतबाट सस्तो र रासायनिक विषादी प्रयोग गरिएका फूलहरू सहजै भित्रिँदा नेपाली किसानहरूले उत्पादन गरेको फूलले उचित बजार र मूल्य नपाउने अवस्था सिर्जना भएपछि फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) को मागबमोजिम सरकारले यो नीतिगत प्रतिबन्ध लगाएको हो । चालु वर्ष पनि तिहारका लागि स्वदेशी उत्पादनले नै करिब ८० देखि ८५ प्रतिशत माग धान्ने अनुमान गरिएको छ ।

स्वदेशी किसानहरू वर्षभरि मिहिनेत गरेर तिहारको बजार पर्खिरहेका बेला सीमापारिबाट भइरहेको यस्तो अवैध तस्करीले स्थानीय उत्पादनलाई विस्थापित गर्ने जोखिम बढाएको छ । सुरक्षा निकायले सीमामा थप कडाइ नगरे तिहारको मुखमा यस्ता प्रतिबन्धित फूलहरूको अवैध बजार झनै फस्टाउने देखिन्छ ।

स्वदेशी किसान भन्छन्, “तस्करी नरोकिए लगानी डुब्छ”

झापाको शिवसताक्षी नगरपालिका-१० मा सयपत्री फूलखेती गरिरहेको समूहकी संयोजक कविता बस्नेतले विदेशबाट आयात हुने फूल रोके मात्रै स्वदेशी फूलले बजार पाउने बताइन् । फूल राम्रोसँग फुलेकाले तिहारमा बिक्री गरेर राम्रो आम्दानी गर्ने अपेक्षा रहेको उनले जानकारी दिइन् । “फूलखेतीबाट राम्रो आम्दानी हुने अपेक्षा गरेका छौँ” बस्नेतले भनिन्, “त्यसका लागि भारतबाट अवैध रूपमा हुने फूलको चोरीतस्करीमा स्थानीय प्रशासनले पूर्ण रोक लगाउनुपर्छ ।”

तिहार नजिकिएसँगै समूहका सदस्यलाई फूल टिप्ने, माला गाँस्ने र बिक्रीको तयारी गर्ने चटारो छ । एउटा माला १ सयदेखि १ सय ५० रुपैयाँसम्ममा बिक्री हुने उनीहरूको अनुमान छ । भारतबाट अवैध रूपमा आएको फूल सस्तो हुने भएकाले स्थानीय उत्पादन बिक्री नहुने समस्या दोहोरिने गरेको उनीहरूको गुनासो छ ।

सामूहिक फूलखेतीले स्थानीय महिलालाई घरायसी जिम्मेवारीसँगै आफ्नै गाउँमा रोजगारी र आयआर्जनको अवसर दिएको छ । करिब छ कठ्ठा जमिनमा १० हजार बिरुवा हुर्काएका उनीहरूले यस वर्ष फूल बिक्रीबाट तीन लाख रुपैयाँसम्म आम्दानी गर्ने लक्ष्य राखेका छन् ।