मानिस चेतनशील प्राणी हो र चेतनाका कारण नै ऊ सधैँ अरु प्राणीभन्दा अगाडि रहेको छ । आफू र आफ्नो परिवारका लागि सुरक्षित घर बनाउनेदेखि सरसफाइ गर्ने एउटा मात्र प्राणी हो मानिस ।

हुन त मानिस सचेत प्राणी भए पनि र सफासुग्घर गरे पनि अन्य जनावरको तुलनामा उसको सङ्क्रामक रोगसँग लड्ने क्षमता कम हुने गर्छ ।

त्यसैले विभिन्न समयमा देखापरेका महामारीबाट मानिस नै प्रभावित भएको पाइन्छ । सयौँ हजारौं मानिस यस्ता सङ्क्रामक रोगबाट मरिरहेका तथ्याङ्क हामी दैनिकजसो सुनिरहेका छौँ र पढिरहेका छौँ ।

सङ्क्रामक रोगको कारण भनेकै फोहोर वातावरण हो, फोहोर खानेकुरा हो र प्रदूषित पानी हो । अनि सङ्क्रामक परजीवीलाई हाम्रै वातावरणमा हुर्कने र रोग फैलाउन दिने अनुकूल वातावरण तयार पारिदिनु हो ।

हरेक वर्षजसो वर्षा सकिने वित्तिकै डेङ्गुजस्तो ज्यानै लिने बिरामी फैलाउने लामखुट्टे हरेक शहर र गाउँमा फैलिने गरेको छ ।

हामी दमकवासीले गतसाल पनि धेरै डर, त्रास र केहीको ज्यान नै गुमाएका छौं । यो वर्ष पनि डेङ्गु देखापर्न सक्छ । यो खतरनाक सङ्क्रामक रोगबाट बच्ने एउटै उपाय सरसफाइ नै हो भनेर धेरैलाई जानकारी भए पनि हामीले गाउँ, नगर सफा राख्न सकिरहेका छैनौँ ।

हामी हरेकले आफ्नो घरआँगन र वरपर सफा राख्ने हो भने नबुझेकालाई बुझाउने हो भने, सचेतनासम्बन्धी कार्यक्रमहरू गर्ने हो भने, पुराना टायर, पानी जम्ने ठाउँ, खाल्डाखुल्डी पुर्ने हो भने र सफा पानी जम्ने स्थान अनि घरमा नै रहेका फ्रिज या अन्य सामग्रीमा लामो समयसम्म पानी नजम्ने वातावरणको व्यवस्था मिलाउने, चर्पी व्यवस्थित बनाउने हो भने पनि हामी धेरै सङ्क्रामक रोगबाट बच्न सक्छौं ।

बेला–बेलामा गाउँ या नगरपालिकाले लामखुट्टे र अन्य परजीवी मार्ने विषादी छर्किएमा धेरैखाले यस्ता सङ्क्रामक या महामारी मच्चाउने रोगबाट बच्न सकिन्छ ।

डेङ्गु एउटा कडाखाले भाइरसबाट लाग्ने रोग हो, जो एडिस एजिप्थाई नामको फिमेल लामखुट्टे जो यो भाइरसबाट सङ्क्रमित हुन्छ ।

यस लामखुट्टेले स्वस्थ मानिसलाई टोकेमा यो रोग सर्ने सम्भावना धेरै हुन्छ । यदि सम्बन्धित मानिसमा त्यो भाइरससँग लड्ने रोग प्रतिरोधात्मक क्षमता कम भएको अवस्थामा रोगका लक्षणहरू देखा पर्छ भने रोग प्रतिरोधात्मक क्षमता बलियो छ भने पनि भाइरस शरीरमा रहिरहन्छ ।

त्यो मानिसबाट अर्को मानिसमा भाइरस सर्ने हुँदा लामखुट्टेको टोकाइबाट बच्नु नै सबैभन्दा बुद्धिमानी हो । लामखुट्टे नै फैलन नदिनु र भएकालाई पनि नष्ट गर्ने उपाय अवलम्बन गर्नु सबैभन्दा राम्रो कार्य हो ।

नेपालमा मात्र नभएर छिमेकी देशमा पनि डेङ्गु रोगले धेरैको ज्यान लिइसकेको हुँदा यो रोगका लक्षण र बचाउका उपायहरूको जानकारी हुनु आवश्यक छ । यो एक खतरनाक सङ्क्रामक रोग हो ।

यसले शरीरका मांसपेशी मात्र नभएर हड्डीसम्म नै असह्य हुने गरी दुख्ने हुँदा यस रोगलाई हड्डीतोड ज्वरो पनि भनिन्छ । यो मुख्य गरेर दुई प्रकारको हुन्छ ।

हेमोरेजिक अर्थात् मुख र अन्य शरीरका भागबाट रक्तनसा फुटेर रगत बग्ने तथा अर्को ज्वरो आउने अनि जीउ, टाउको अनि शरीरका हड्डीसम्म दुख्ने ।

यसका लक्षणहरू यति कडा हुन्छन् कि औषधिले नियन्त्रण गर्न निक्कै कठिन हुन्छ । र समयमा नै उपचार नपाएमा बिरामीको मृत्यु पनि हुन सक्छ । त्यसैले यो रोगका बारेमा बेलैमा बच्ने जानकारी, रोकथाम र उपचारका बारेमा जनीराख्नु राम्रो हुन्छ ।

अन्त्यमा, हामी मानिस प्राणीमध्येका बुद्धि र विवेक भएका हौं । कुनै कुराको समस्या छ भने त्यसको समाधान पनि हुन्छ । समाधान पनि हामीसँगै छ । खाली हामी सचेत र जागरुक हुनुपर्छ ।

यस्ताखाले रोगबाट बच्न हामीले आप्mनो घर, आँगन, टोल अनि गाउँ या नगर सफा राख्नु पर्छ ।

सफा या फोहोर पानी जमेको भए या खाल्डाखुल्डी भए पुर्नु पर्छ । विशेषगरेर यो रोग फैलाउने लामखुट्टेले जमेको सफा पानीमा फुल पार्ने हुँदा त्यस्तो पानी जमेको ठाउँलाई पानी नजम्ने बनाउनु पर्छ ।

सम्भव नभए केमिकल या मट्टितेल छर्कनु पर्छ । घर वरपर रहेका टायर र अन्य पानी जम्ने वस्तु भए हटाउनु पर्छ ।

राति या दिउँसो सुत्दा झुल अनिवार्य लगाउनु पर्छ । घरबाहिर हिँड्दा या घरमै या अफिसमा बस्दा पूरा बाउला भएका लुगा लगाउनु पर्छ । ओडोमास जस्ता लोशन लगाएर हिँड्नु या सुत्नु पर्छ ।

घरमा फ्रिज भए पछाडि जम्ने पानीलाई सफा गरिरहनु पर्छ । सङ्क्रमण हुने सम्भावना रहेमा या ज्वरोसँगै जीउ दुख्ने लक्षण देखिएमा तुरुन्तै स्वास्थ केन्द्र या चिकित्सकसँग सम्पर्कमा रहनु पर्छ ।

यो रोग निम्त्याउने भाइरसको औषधि उपलब्ध हुन नसकेका कारण उपचार पनि अझै जटिल रूपमा नै रहेको हुँदा बिरामीको लक्षणअनुसार अस्पतालमा राखेर उपचार गर्ने गरिन्छ ।

होमियोप्याथिक चिकित्सा प्रणालीमा भने हरेकखाले रोगको लक्षण चिन्हका आधारमा उपचार गरिने हुँदा डेङ्गु जस्ता सङ्क्रामक रोगको उपचार यो चिकित्सा विज्ञानमा रहेको कुरा पनि यो पंक्तिकार सम्पूर्ण नागरिकमा जानकारी गराउन चाहन्छ । (लेखकः होमियोप्याथिक चिकित्सक हुन् ।)