भद्रपुर । नक्कली मूल्य अभिवृद्धि कर (भ्याट बिल) प्रयोग गरी अवैध कारोबारको अभियोगमा पक्राउ परेका व्यापारी सञ्जीव घोषसहित उनका सहयोगी धरौटी बुझाएर छुटेका छन् ।
भद्रपुर बजारमा सञ्चालित शिव स्टोरका सञ्चालक घोष र उनका सहयोगी भद्रपुरकै मोहम्मद युवराम मियाँ नगद र बैङ्क धरौटी राखेर छुटेका हुन् । चालक विकास विश्वकर्मा भने धरौटी बुझाउन नसक्दा कारागारमै रहेका छन् । राजस्व अनुसन्धान कार्यालयमा घोषले १ करोड ४२ लाख धरौटी बुझाएर शुक्रबार छुटेको राजश्व अनुसन्धान पूर्वाञ्चल क्षेत्रीय कार्यालय इटहरीले जनाएको छ ।
नक्कली भ्याट बिल प्रकरण |
घोषले सनराइज बैङ्कमार्फत् ग्यारेन्टी राखेर छुटेको राजश्व अनुसन्धान पूर्वाञ्चल क्षेत्रीय कार्यालय इटहरीका प्रमुख जयबहादुर भण्डारीले बताए । घोषका सहयोगी मियाँ एक हप्ताअघि साढे सातलाख नगद बुझाएर छुटेका छन् भने विश्वकर्मालाई आइतबार म्याद थप गरेर राखिएको प्रमुख भण्डारीले बताए । घोषले सनराइज बैङ्कबाट ग्यारेन्टी राखी छुटेको उनले जनाए । घटनाको विषयमा विभिन्न कोणबाट अनुसन्धान भइरहेकोले कति रकम लाग्छ भन्ने विषयमा टुङ्गो लागिनसकेको उनको भनाइ छ । फायल अन्तिम भइसकेपछि सरकारी वकिलसँग समन्वय गरेर अदालतका मुद्दा दर्ता गराइने उनले बताए । ‘धरौटीमा छुट्नु फैसला हैन’ यो त थुनामा राखिरहनलाई समस्या भएपछि केही सहज मात्र गरिएको उनले बताए । घोषले १ करोड ४२ लाख र अन्य दुईजनाले साढे सातलाखको दरले प्रारम्भिक अनुसन्धानको क्रममा १ करोड ५७ लाख धरौटी रकम बुझाउन नसकेपछि राजस्व अनुसन्धान कार्यालयले उनीहरुलाई पुर्पक्षको लागि साउन २२ गते सुनसरीस्थित पूर्वाञ्चल क्षेत्रीय कारागार झुम्का पठाएको थियो । पक्राउ परेपछि सुनसरी अदालतबाट पहिलो पटक सातदिन र दोस्रोपटक पन्ध्र दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको थियो । जिल्ला प्रहरी कार्यालय सुनसरीले साउन १२ गते घोषका दुई सहयोगीलाई कुर्था सुरुवाल बोकेकोे मे. १ च ३०४९ नम्बरको सेतो रङको मारुती भ्यानमा भन्सार तथा राजस्व छलीका कपडाहरू इटहरी बसपार्कबाट जिल्ला प्रहरी कार्यालय सुनसरीले बरामद गरेको थियो । सुर्या इन्टरप्राइजेज नरदेवी काठमाडौंको नामको बिलबिजकको ठेलीसहित ८ लाख ६५ हजार ७ सय ८० रुपैयाँ मूल्य बराबरको अवैध कपडा राजश्व अनुसन्धान पूर्वाञ्चल क्षेत्रीय कार्यालय इटहरीमा प्रहरीले बुझाएको थियो । अनुसन्धानको क्रममा घोषको नाम आएपछि राजस्व कार्यालयले व्यापारी घोषलाई सोही महिनाको १४ गते पक्राउ गरेको थियो । घोषले एउटै नम्बरका भ्याट बिल ५ वटासम्म बनाएको फेला परेको कार्यालयले जनाएको छ । लामो समयदेखि कपडाको कारोबार गर्दै आएका घोषले भन्सार छली गरी ल्याएको अवैध कपडा पक्राउ परेको थियो । बारम्बार अवैध लत्ताकपडा भिœयाउने घोषले अवैध रूपमा भ्याटसमेत छली गरेको कारण उनलाई पक्राउ गरी राजस्व कार्यालयले अनुसन्धान अगाडि बढाएको थियो । पछिल्लो समयमा कर भ्याट छल्ने व्यापारीमाथि निगरानी बढाइएको राजस्व कार्यालयले जनाएको छ । घोष पक्राउ परेपछि आवश्यक छानविनको लागि भद्रपुर र काठमाडौंमा रहेका गोदाममा छापा मारेको थियो । लामो समयदेखि भन्सार छली ल्याएको सामान बिक्री गर्ने गरेको उनीमाथि आरोप लागेको छ । भद्रपुर छोटी भन्सार तथा सुनसरीको सीमाक्षेत्रबाट उनले अवैध सामग्री भिœयाउने गरेको भन्दै प्रहरीले उनी विरुद्ध निगरानी बढाउन थालेको थियो ।