पानवारी । खेल मैदान निर्माण गर्ने नाममा धरान–६ पानवारीस्थित घोपाली टोलमा सामुदायिक वनले लगाएको रुख अनाधिकृत रूपमा कटान गरिएको छ । पानवारी सामुदायिक वनले लगाएको विभिन्न प्रजातिका १६ वटा रुख   अनाधिकृत रूपमा जरै उखालिएको हो । स्थानीय तहले तीन महिनाअघि मात्र उक्त क्षेत्रमा खेलकुद मैदान बनाउने निर्णय गरेको थियो । तर वन कार्यालयले भने वन क्षेत्र मासेर खेल मैदान बनाउने अधिकार स्थानीय तहलाई नभएको दाबी गरेको छ । स्थानीय तह र सामुदायिक वनले मैदानका लागि रुख कटान गर्नेबारे निर्णय गर्न नसक्ने पानवारी सामुदायिक वनका अध्यक्ष दुर्गा शिवाकोटीले बताए । खेल मैदान निर्माणका लागि बनेको समितिका अध्यक्ष तारा तामाङले जेसीभी प्रयोग गरेर जरैपल्टाएको आरोप लगोको छ । पानवारी सामुदायिक वन उपभोक्ता समितिले आफ्नो वन क्षेत्रभित्र समितिलाई जानकारी नदिइ खेल मैदान निर्माण गर्न लागेको भन्दै सव डिभिजन वन कार्यालय पाँचकन्यालाई सूचना दिएको थियो । उक्त सूचनाको आधारमा आइतबार छानविन गरेको छ ।

वन कार्यालयका रेञ्जर ईश्वरी बास्तोलाका अनुसार घटनाको मुचुल्का उठाएर रुखको रेखदेखको जिम्मा पानवारी सामुदायिक वनलाई दिइएको छ । उनका अनुसार ११ वटा टिकको रुख, ३ वटा असार एउटा कदम र एउटा बेल गरी जम्मा १६ वटा रुखको जरै पल्टाइएको छ । ति रुखको परिणाम कति छ भनेर नापजाँच गरिसकेर मात्रै भन्न सकिने बास्तोलाले बताए । जिल्ला वन कार्यालयले रेञ्जर बास्तोलालाई अनुसन्धान अधिकृत तोकेर कारवाही प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको जिल्ला वन अधिकृत राजेन्द्रप्रसाद निरौलाले बताए । खेल मैदान निर्माणका लागि तीन महिनाअघि धरान–६ का वडाध्यक्ष भुवनसिंह बस्नेत, खेल मैदान निर्माण समितिका सदस्यहरू र सामुदायिक वनका पदाधिकारी बीच छलफल समेत भएको थियो । छलफलमा वनको नियमानुसार अघि बढ्नुपर्ने भनिएको सामुदायिक वनका अध्यक्ष सिवाकोटीले जनाए । तर, अहिले आएर एक्कासी रुखको जरै उखेलेर पल्टाएको सूचना आएपछि हेर्न जाँदा मात्रै थाहा उनले बताए । तत्काल वन कार्यालयलाई सूचना गरेको र वन ऐनअनुसार नै कारबाही प्रक्रियाअघि बढ्ने समेत उनले बताए । यसअघि पनि पानवारी सामुदायिक वनका पदाधिकारीको मिलेमतोमा ठूलो परिणाममा रुखहरू अनाधिकृत रूपमा कटान गरेपछि वनका पदाधिकारीहरू कारवाहीमा परेका थिए ।