
भद्रपुर । आपराधिक घटनामध्ये झापामा यौनजन्य घटना चुनौतीको रुपमा रहेको भन्दै प्रहरीले एक महिने विषेश सुरक्षा परिचालन शुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाले आइतबारबाट लागू हुनेगरी विभिन्न क्षेत्रमा यौनजन्य हिंसा बिरुद्ध टोल टोलमा प्रहरी अभियानका लागि २ सय ३५ जना प्रहरी परिचालन गरेको जनाएको छ ।
प्रहरी प्रवक्ता तथा डिएसपी जितेन्द्र कुमार बस्नेतको नेतृत्वमा प्रहरी परिचालन गरिएको एसपी भीमप्रसाद ढकालले बताए । एसपी ढकालले डिएसपी बस्नेतलार्इ फायल दिएर अभियानको शुरुवात गरेका थिए ।
विषेश परिचालनको लागि सादा पोसाक प्रहरी ५० जना, ५० ओटा मोटरसाइकल गस्तीमा एकसय जना, खोज तलास लिने र पैदल गस्ती टोलीमा ७० जना साथै अनुसन्धान टोलीमा १५ जना गरी २ सय ३५ जना प्रहरी परिचालन गरिएको एसपी ढकालले बताए । जिल्ला भरीका इलाका तथा प्रहरी चौकीहरुबाट परिचालन हुने व्यवस्थाको नेतृत्व डिएसपी बस्नेतले गर्नेछन भने गतिविधिको अनुगमन निरीक्षण एसपी ढकालले गर्ने उल्लेख गरिएको छ ।
टोलीले यौनजन्य घटना र कारक तत्वहरुको सूचना सङ्कलन गर्ने,सम्भावित स्थानहरुको पहिचान गरी जनशक्ति परिचालन गर्ने ,अभियुक्तलाइ तत्काल पक्राउ गरी प्रभावकारी अनुसन्धान गर्ने,पीडित र पीडितका आफन्तसहित आम नागरिकलाई सुरक्षाको थप अनुभूति दिलाउने,सम्भावित पीडकहरु पहिचान गरी निगरानी र परिचालन मार्फत निरुत्साहित गर्ने यसको मुख्य उद्देश्य रहेको उनको भनाइ छ । केही समय यता जिल्लाका स्थानहरुमा यौनजन्य ,दूर्रब्यवहार,अपराध लगायतका घटनामा बृद्धि भएकोले यसका बिरुद्ध सचेतना गराउनमा यो अभियान सफल हुने भएकोले सबैको अनुरोधमा शुरु गरिएको उनले जनाए ।
त्यसैगरी हालै कानून शाखाबाट नयाँ एसपीको रुपमा झापा आएका ढकालले झापाली पत्रकारसँग परिचयात्मक र कार्यअवधि भरको योजना सुनाएका थिए । प्राथमिक्तामा राखेर काम गरिने भएकोले सवै नागरिकलाई अनुभुती हुने खालको सेवा प्रवाह गरिने उनको भनाइ थियो । सीमा क्षेत्रमा हुने तस्करीलाइ कुनै कन्जूस्याँइ नगरी काम गर्ने उनले आश्वासन दिए । बनाइएका यस्ता योजना केही महिनापछि सेलाएर जाने नभइ सधै तातै रहने उनले विश्वास दिलाएका थिए ।
झापा विशिष्ट जिल्ला भएकोले स्तरीय सुरक्षा व्यवस्था हुन जरुरी रहेको औल्याए । यौनजन्य घट्नासँगै तस्करी,चेलीबेटी बेचबिखन ,लागूऔषधलार्इ समेत प्राथमिक्तामा राखिएको उनले बताए । पछिल्लो समय विभिन्न प्र्रकृतिका चारवटा यौनजन्य घटना झापामा भइसकेको प्रहरीले जनाएको छ ।