वराहक्षेत्र । वराहक्षेत्रको चतरा र वयरबन सडकमा सडकबत्ती राख्न स्थानीयले माग गरेका छन् । बयरवनबाट चतरा जाँदा बीच जङ्गलमा पर्ने लालबस्तीका स्थानीय असुरक्षित भएको भन्दै सडकमा बत्ती राख्न माग गर्दै स्थानीय नगरपालिकाको कार्यालय पुगेका छन् । उनीहरूले स्थानीय सरकारसँग बत्तीको सुविधा दिनुपर्ने माग राखे । चतरा प्रवेश गर्ने प्रमुख मार्ग जङ्गल क्षेत्रमा पर्छ । सो सडक साँझ हुने बित्तिकै सुनसान हुने गरेको छ । सुरक्षाको कारणले पनि सो क्षेत्रमा बत्ती राख्नु पर्ने स्थानीयको माग छ । ‘चल्तीको बाटो भएकाले राति अबेरसम्म मानिस ओहोर–दोहोर गर्दछन्, आफू पनि ढिलो घर जाने भएकोले बाटो अँध्यारो र सुनसान हुन्छ, चाडवाड मेलापातमा आउजाउ गर्न समस्या छ ।’ बयरवन बजारमा पसल गर्ने चतरा गैरी टोलका भविन राउतले भने । सडकमा बत्ती नहुँदा राति गस्तीमा निस्किएका प्रहरी आएको थाहा पाउने बित्तिकै केटाकेटीहरू भाग्ने गरेको इलाका प्रहरी कार्यालय चतराका सई चक्रमणि थापाले बताए । असामाजिक तत्वले अँध्यारोको फाइदा उठाउन सक्ने हुँदा जति सक्दो छिटो बत्ती राखिनु पर्ने सई थापाको पनि भनाइ छ । बयरबनको गौरी पूलदेखि चतराको तोरीबारी खानेपानी समितिबीचको सडक सुरक्षाको दृष्टिले समेत संवदेनशील छ । चतरामा साउन महिना भरि लाग्ने बोलबम मेलामा आउने भक्तजनका लागि, सडक बत्ती राखिने, बोलबम मेला मूल व्यवस्थापन समितिले बताए पनि मेला सकि नै लाग्दा हालसम्म बत्ती जडान हुन सकेको छ्रैन ।