पाँचथर । एक महिनाभन्दा लामो समयदेखि भारत निकासी हुन नसकेको नेपाली गोलभेँडाको निकासी खुलेको छ । निर्यात सामग्रीको सूचीमा नपरेको भन्दै भारतले नेपाली गोलभेँडा निकासीमा रोक लगाएको थियो ।
अचानक गोलभेँडा निकासी रोकिएपछि पूर्वी पहाडका कृषकले फलाएको गोलभेँडा बारीमै कुहिएको थियो । गोलभेँडा निकासीको व्यवस्था गर्न माग गर्दै पाँचथरको याङवरक र हिलिहाङ गाउँपालिकाका कृषकले गोलभेँडा सडकमा घोप्ट्याएर साङ्केतिक आन्दोलन गरेका थिए । अन्य खेती गर्ने जमिनमा समेत गोलभेँडा लगाएका कृषकले गोलभेँडा नै बिक्री नभएपछि ठूलो घाटा व्यहोर्नु परेको थियो ।
कृषकको समस्यालाई मध्यनजर गर्दै सङ्घीय सरकारको वाणिज्य मन्त्रालय र प्रदेश सरकारले पहल गरी गालभेँडा निकासीको वातावरण मिलाएको प्रदेश–१ का आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बो मौसमले बताए । मन्त्री आङ्बोले आफ्नो फेसबुक पेजमार्फत भनेका छन्– ‘गोलभेँडा निकासीमा देखिएको समस्या तत्काललाई समाधान भएको छ, आशा छ अब किसानले गोलभेँडाको उचित मूल्य पाउने छन् ।’ आङ्बोले गोलभेँडालगायत अन्य कृषिजन्य उपजको निकासीमा देखिएको समस्याको दीर्घकालीन समाधान र आन्तरिक खपत बढाउनका लागि पनि आवश्यक प्रक्रिया बढाइएको बताएका छन् ।
योसँगै बारी र सडकमै कुहिएर गइरहेको कृषकको गोलभेँडा व्यापारीले उठाउन सुरु गरेका छन् । अहिले प्रतिकेजी नौ रुपैयाँमा गोलभेँडा उठाउन सुरु गरिएको व्यवसायीले बताएका छन् । गोलभेँडाको निकासी खुलेसँगै कृषकले राहत महसुस गरेका छन् । अब गोलभेँडाले उचित मूल्य पाउनेमा आफूहरू आशावादी रहेको पाँचथरको हिलिहाङ–२ का कृषक प्रकाश उप्रेतीले बताए । बजार प्रवद्र्धन तथा निकासी केन्द्रको समूह केही दिन अघि कृषकको समस्या बुझ्न पाँचथर आएको थियो ।