पथरी । मोरङको कानेपोखरी गाउँपालिकाले स्वास्थ्य चौकीको बर्थिङ सेण्टरमा बच्चा जन्माउने सुत्केरीलाई ६ हजार ८ सय रुपैयाँ भत्ता दिइने भएको छ । कानेपाखेरी–४ स्थित बयरवन स्वास्थ चौकीको बर्थिङ सेन्टरमा बच्चा जन्माएमा सुत्केरीलाई गाउँपालिकाले ५ हजार र स्वास्थचौकीले १८ सय रकम उपलब्ध गराउने भएको हो । आर्थिक वर्ष २०७५/०७६ को बजेटमा निर्णय गरेको रकम साउन महिनादेखि दिने निर्णय गरेको गाउँपालिकाका प्रवक्ता सुशील बुढाथोकीले बताए । यो सुविधा जुनसुकै स्थानबाट आएका नेपाली नागरिकलाई दिइएको छ । प्रसूति गृहमा प्रसूति गराउन ल्याएर स्वास्थ्यचौकीले अर्को हस्पिटलमा रेफर गरेमा उक्त सुत्केरीलाई एम्बुलेन्सबापत २ हजार रुपैयाँ भाडा दिइने स्वास्थ्यचौकीका सञ्चालक समितिका अध्यक्ष तथा ४ नम्बर वडाध्यक्ष धनबहादुर राईले बताए । उता स्वास्थ्यचौकीले प्रदान गर्ने १८ सय रुपैयाँको हकमा भने स्वास्थ्यचौकीमा नियमित चेकजाँच गराएको हुनुपर्ने प्रावधान स्वास्थचौकीका इञ्चार्ज कामेश्वर अधिकारीले बताए । ‘कम्तीमा चारपटक स्वास्थ्य चाँज गराएको हुनुपर्छ’ –उनले भने । ग्रामीणभेगबाट सुत्केरी गराउनका लागि सुविधा सम्पन्न हस्पिटलहरूमा लाने गरेकाले गाउँपालिकाले यस्तो सुविधा दिएको हो । बयरवन स्वास्थ चौकीमा प्रसूति गराउनेको संख्या एकदमै न्यून छ । २०७४ सालमा राधिका राजवंशी, यमुना राजवंशी, आशा ऋषिदेव र दिनेश्वरी चौधरीले प्रसूति गराएका थिए । २०७३ सालमा मात्रै २ जनाले प्रसूति गराएका थिए । २०७५ को साउनमा एकजनाले मात्रै प्रसूति गराएको स्वास्थ्य चौकीको अभिलेखमा उल्लेख छ । एक दशकअघि बयरवन स्वास्थ्य चौकीमा प्रसूति गराउनेको संख्या वार्षिक रूपमा २३ जनाभन्दा बढी रहेको थियो । यसबीचको रेफर गरेको २ जना विरामीहरूको मृत्यु भएपछि भने स्वास्थ्य चौकीमा प्रसुतिको गराउन आउनेको संख्यामा कमी आएको हो । तर २०७३÷७४ को तथ्याङ्कलाई हेर्दा भने क्रमशः बढ्दै गएको देखिन्छ । २०७४ सालमा महिलाहरू स्वास्थ्य चौकीमा पहिलो पटक २ सय ६९ जनाले स्वास्थ्य जाँच गराएका थिए । त्यसैगरी चौथो पटक २ सय १४ जनाले स्वास्थ्य चेक गराए । शुरुमा जाँच गराउनेको संख्या धेरै हुन्छ, दोस्रो, तेस्रो, चौथो पटक क्रमशः घट्दै जान्छ । बच्चा जन्माउने बेलामा अन्तै लाने गरेकाले सुत्केरी गराउने संख्या थोरै भएको प्रसूति सेवामा कार्यरत सञ्जिला घिसिङ बताउँछिन् । जनप्रतिनिधिहरू आएपछि बयरवन स्वास्थ्य चौकीमा २४ घण्टा प्रसूति सेवा दिइरहेको छ । प्रसूति गृहमा अहिले मुना राई, मालिका रोकाय खत्री, सञ्जीला घिसिङ र सपना विक गरी ४ जनाले सेवा दिँदै आएका छन् ।