बेलबारी । मोरङको बेलबारीमा बास्केट वलको कोर्ट निर्माणका लागि आयोजित सांगीतिक सहयात्रा कार्यक्रम शनिवार साँझ सम्पन्न भएको छ । बेलबारी बास्केट वल क्लवद्धारा आयोजित सांगीतिक सहयात्रा कार्यक्रममा चर्चित पप गायक नितेशजंग कँवरले सांगीतिक प्रस्तुति संगै युवापुस्ताका संगीतप्रेमीहरुलाई नचाएका थिए ।

नेपाली लोकसंगीतलाई नयाँ पुस्ताको रुचिलाई जोडेर तयार पारेका गायक कुँवरले धेरै गीतहरु गाएका थिए । नेपाली पप संगीतमा चर्चामा आएका नितेशजंगले हाम्रो नेपाल बोलको देशभक्ती गीतबाट आफ्नो प्रस्तुति शुरुवात गरेका थिए । गायका नितेशले सिन्धुली गडी घुमेर आउँदा ...फिर्ती माया...लगायत आधा जर्दन बढी गीतहरुहरु गाउँदा युवादर्शकहरु नाचेर साथ दिएका थिए ।

नितेस पछिल्लो समयमा युवा संगीतप्रेमीहरुको ढुकढुकीका रुपमा परिचित छन् । कुँवरको प्रस्तुतिले शनिवार साँझ बेलबारी संगीतमय भएको थियो ।युवाहरुलाई खेलकुद र संगीतको माध्यमबाट समेटेर समाजिक कार्यमा जोड्न कार्यक्रमको आयोजना गरिएको क्लवका अध्यक्ष संदीप राईले बताए । बेलबारीमा वास्केटवलको कोर्ट नभएको कारण कोर्ट निर्माणका लागि कार्यक्रम आयोजना गरेको उनको भनाई छ । कार्यक्रमका लागि बेलबारी नगरपालिका लगायत देशविदेशमा रहेका सहयोगीहरुले सहयोग गरेका छन् ।

कार्यक्रमलाई नेपाल आईस वियर, लाहुरे ट्रेनिङ सेन्टर धरान, बेलबारी कृषक दानाले प्रायोजन गरेका थिए । कार्यक्रममा विराटनगरको स्मृति व्याण्डले निकै आकर्षक प्रस्तुति राखेका थिए । चर्चित गीत आमा तिमी...सोल्टीनी ...लगायतको गीत स्मृति व्याण्डको प्रस्तुति रहेको थियो । कार्यक्रममा विक्रम धिमाल, गंगा राई,विहानी गुरुङ स्थानीय कलाकारहरुले पनि आकर्षक प्रस्तुति राखेका थिए ।

कार्यक्रममा बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले प्रमुख अतिथि मन्तव्य राखेका थिए । मानिसलाई स्वास्थ्य रहन खेलकुदको आवश्यक पर्छ यस क्लवले गरेको कार्यक्रम प्रति नगरपालिका सकारात्मक रहेको बताएका थिए । कार्यक्रममा बेलबारीका वडा नं. ३ का वडाध्यक्ष योगेन्द्र सुवेदी, वडा नं. ४ का वडाध्यक्ष रामकुमार राई लगायत अतिथि रहेका थिए । कार्यक्रममा क्लवका सचिव निरज रिमालले स्वागत मन्तव्य र कार्यक्रम संयोजक गजेन्द्र गुरुङले कार्यक्रम बारे प्रकास पारेका थिए ।