काठमाडौं/ सम्पर्कविहीन मकालु एयरको सिंगल इन्जिन सेस्ना जहाज दुर्घटना भएको अवस्थामा भेटिएको छ। मकालु एयरको ९ एन एजेयु कल साइन भएको उक्त जहाज तीन टुक्रा भएको अवस्थामा फेला परेको नेपाल नागरिक उड्ययन प्राधिकरणका अधिकारीले बताएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार हुम्लाको खार्पुनाथ गाउँपालिका बाम खर्कमा दुर्घटनाग्रस्त अवस्थामा जहाज फेला परेको हो।

[caption id="attachment_82777" align="aligncenter" width="810"] फाइल तस्बिर[/caption]

पाइलट, कोपाइलटको मृत्यु

जहाजमा चालक दलका क्याप्टेन किरण भट्टराई र को–पाइलट आदित्यनाथ नेपाल मात्र थिए। उनीहरु दुवैको मृत्यु भएको प्राधिकरणका उपमहानिर्देशक राजन पौडेलले बताए। जहाज खोजीका लागि गएको माउन्टेन एयरको हेलिकोप्टरले दुर्घटनास्थल पत्ता लगाएको उनले जानकारी दिए। माउन्टेन एयरका २ र नेपाली सेनाको १ हेलिकोप्टर जहाजको खोजीमा परिचालन भएका थिए।

सुर्खेत विमानस्थलबाट ६ बजेर १२ मिनेटमा उडेको उक्त जहाज सम्पर्कविहीन भएको थियो। पूर्व निर्धारित तालिकाअनुसार जहाज ६ः५५ बजे हुम्लाको सिमिकोटमा अवतरण गर्नुपर्ने थियो। विमानस्थल पुग्नुभन्दा ७.७ नर्टिकल माइल वरै जहाज डाँडामा ठोक्किएर दुर्घटनाग्रस्त भएको हो। दुर्घटना अघि जहाज १२ हजार ८ सय मिटरको उचाइमा उडिरहेको उनले बताए।

(यसअघि त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले दिएको सूचनाआधारमा जहाज बाजुरामा भेटिएको भनेर हामीले खबर तयार पारेका थियौं। तर उक्त सूचना गलत भएको विमानस्थलकै प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिएपछि समाचार सच्याएका छौं । यसबाट पाठकमा पर्न गएको असुविधाप्रति क्षमा चाहन्छौं।)