दमक/ मलद्धारमा क्यान्सर भएकी रकम अभावमा उपचारबाट बञ्चित एक युवतीलाई हङकङमा बस्ने नेपालीहरुले लगभग १३ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् । हङकङको सामसुइपो नेपाली परिवार र झापा हङकङ समाजको पहलमा संकलन भएको सहयोग शनिबार हस्तान्तरण गरिएको छ ।
दमक नगरपालिका २ घर भएकी २४ वर्षिय जानुका पराजुलीलाई हङकङमा बस्ने नेपालीहरुले १३ लाख रुपैंयाँ आर्थिक सहयोग गरेका हुन् । बिपन्न परिवारकी पराजुलीको उपचारका लागि रकम नभएपछि हङकङमा बस्ने नेपालीहरुले सहयोग रकम संकलन गरी पठाइदिएका हुन् । बिर्तामोडका कुमार राईको पहलमा संकलित सहयोग रकम शनिबार हस्तान्तरण गरिएको हो । पराजुली दुइ वर्षदेखि घरेलु कारमदारको रुपमा हङकङमा बस्दै आएकी थिइन् । रकम संकलनमा पहल गर्दै आएका राइको छोरी बिनाकुमारी राइको घरमा काम गर्दै आएकी पराजुलीको मलद्धारमा घाउ देखिएपछि स्थानीय अस्पतालमा उपचारका लागि लगिएको उनले बताइन् । चेकजाँचका क्रममा क्यान्सर भनेर प्रमाणित भएपछि थप उपचारका लागि उनलाई नेपाल फर्काइएको थियो । उनी लगभग १४ महिना जति हङकङमा घरेलु कामदार भएर बसेकी थिइन् ।
भारतको दिल्लीमा रहेको राजिब गान्धी क्यान्सर हस्पिटलमा पराजुलीको उपचार हुँदै आएको छ । उपचारमा संलग्न चिकित्सकले शरिरको अन्य भागमा क्यान्सर नफैलिएको हुनाले समयमै उपचार गरेको अवस्थामा रोग ठिक हुने आश्वासन दिएको पीडित पराजुलीले बताइन् । ‘चिकित्सकले होलबडी सिटी स्क्यान गरेर हेरेपछि शरिरको अन्य भागमा क्यान्सर भएको छैन भनेका छन् , पराजुलीले भनिन्–‘समयमा उपचार पाउँने हो भने म बाँच्न सक्छु ।’ उपचारका लागि २५ लाख भारतीय रुपैंयाँ खर्च लाग्ने भएपनि रकमको अभाव भएको उनले बताइन् । यसअघि झापा हङकङ समाजले ३ लाख १४ हजार रुपैंयाँ सहयोग गरिसकेको छ । त्यो समेत गरेर आफुसँग भएको थप गरी ७ लाख रुपैंयाँ चेकजाँचमा खर्च भइसकेको उनले बताइन् । सामसुइपो नेपाली समाजले हङकङले शनिवार ९ लाख ८० हजार रुपैंँयाँ प्रदान गरेको छ । समाजका अध्यक्ष बिनोद राईको सकृयतामा सो रकम संकलन भएको हो । मलेशियामा रहेका नेपालीहरुले समेत ५० हजार रुपैयाँ संकलन गरेर पठाइदिएको जानकारी उनले दिइन् ।
७ धुर जग्गामा बनेको टिनको तीनकोठे घर बाहेक पराजुली परिवारको अन्य कुनै चल अचल सम्पति छैन । आमा र भाइसँग उनी त्यो घरमा बस्दै आएकी छन् । ‘कमाएर परिवार पाल्ने म मात्र थिंए, पराजुलीले भनिन्–‘म नै यस्तो अशक्त भएपछि आमाको बिचल्ली हुने भएको छ । उनका पिताको ९ बर्षअघि निधन भएको थियो । उनको उपचारका लागि आवश्यक पर्ने रकम अभाव भएपछि दमकका अगुवाको सक्रियतामा ‘जानुका पराजुली बचाउ अभियान’ शुरु भएको छ । स्थानीय अगुवा लक्ष्मी सुब्बाको नेतृत्वमा गठित समितिले पराजुलीको उपचारका लागि आर्थिक संकलन गर्न थालेको हो । समितिले पराजुलीको उपचारका लागि सहयोग गरिदिन सम्पुर्णमा आग्रह गरेको छ । समितिले पनि आइतबारदेखि सडकमा चिया र बिस्कुट बिक्रि गरेर सहयोग संकलन गर्न शुरु गर्ने जनाएको छ । उनको उपचारका लागि राष्ट्रिय वाँणिज्य बैंक दमकमा जानुका पराजुली बचाउ अभियानको खाता नम्बर २१४००२५६१११० मा रकम जम्मा गरिदिन समितिले सबैमा आग्रह गरेको छ ।
दमक नगरपालिका वडा नम्बर १ का अध्यक्ष ताराप्रसाद अधिकारीले सरकारको तर्फबाट क्यान्सर पीडितलाई प्रदान गरिने १ लाख रुपैंयाँ पाउँनका लागि चाँडो सिफारीस बनाइदिने बताए । ‘नगरपालिकाको तर्फबाट खासै धेरै सहयोग गर्न सकिन्न, उनले भने–‘सकेको सहयोग त गर्छौं नै सरकारले दिने रकम पनि चाँडो पाउने व्यबस्था गर्छाैं ।’