विर्तामोड । युरोप, अमेरिका मोहका कारण नेपालका शिक्षित जनशक्ति पलायन हुने क्रम बढेको छ । अलि कम शिक्षा लिएका तथा अर्थिक अवस्था कमजोर भएका युवा युवती रोजगारका लागि बिदेशिनु बाध्यता बनेको छ । तर, आर्थिक अवस्था सबल भएका उच्च घरानाका युवा युवतीमा पनि बिदेशिने रोगले च्यापेको छ । एउटा शिक्षित युवक बिदेशमा गएर अझ सुख सयल पाउने भन्दै नेपाल छोड्छ । अष्ट्रेलिया गएको उसले उतै बिवाह गर्छ । उसका दुईजना सन्तान पनि हुन्छन् । उमेर हुन्जेल श्रम गरेर रमाएको उ जब बुढेसकालले समाउछ तब नेपाल फर्किन खोज्छ । नेपाल फर्किने बेलामा उतै जन्मेका उसका सन्तानले नेपालमा आफ्नो केही र कोही नभएको भन्दै यता आउन दिदैनन् । र त्यो पीडालाई समेटेर निर्माता गौतम लामिछानेले चलचित्रको पर्दामा उठाउने प्रयास गरेका छन् । ‘मन त हो’ नामक नेपाली चलचित्रको कथाबस्तु यही प्रसंगमा केन्द्रित छ । पुजा इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको चलचित्र झापा, जनकपुर र काठमाण्डौ लगायतका स्थानमा छायाङकन हुने भएको छ । सो चलचित्रको शुक्रबार झापाको चारआलीमा रहेको पाथीभरा मन्दिरमा शुभमुहुर्त गरिएको छ । सुवास लामिछानेको निर्देशन तथा दिल प्रकाश याक्सो ‘टाइगर’ ले प्राविधिक सल्लाहकार निर्देशन गर्ने चलचित्रमा सम्वाद सुशिल पोखरेल, द्धन्द्ध राजन कार्की, छायाङकन बिक्रम डिसी, नृत्य दिनेश पाख्रिन र दिनेश माङमो रहेका छन् । प्रोडक्सनमा रोशन सिलवार र प्रोडक्सन डिजाइनरमा कुमार सिलवाल रहेका छन् । चलचित्रमा रहेका गितहरुमा स्वर बिक्रम राइ, बिन्दु परियार, कृष्ण काफ्ले, साहिमा श्रेष्ठको स्वर सुन्न सकिन्छ । समसामयिक बिषयबस्तुलाई प्रस्तुत गर्न खोजिएको चलचित्रमा रमा लिम्बु, राज खड्का, भुपेन्द्र लिङदेन ‘मन्त्री’, बिनु बजगाँई, बिना पालुङवा, रेशु आचार्य, बिक्रम धिमाल, बिमल ढुङगेल, पुष्प बराल, सिला उप्रेती लगायतको अभिनय रहेको छ ।