मोरङ/ मातातीर्थ औंशीका अवसरमा सोमवार मोरङ र झापामा विभिन्न कार्यक्रम भएका छन् ।

मोरङ पथरीशनिश्चरे १ स्थित शालिग्राम भजन किर्तन मण्डलीको आयोजनामा नगरका ७० वर्षमाथिका १ सय २० जना ज्येष्ठ माताहरुलाई सम्मान गरेको छ ।

नगरपालिका प्रमुख दिलिपकुमार राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उहाँहरुलाई दोसल्ला ओढाएर तथा खाना खुवाएर सम्मानित गरिएको संस्थाका अध्यक्ष दुर्गावहादुर वस्नेतले जनाए । संस्थाले विगत ४ वर्षदेखि मातातीर्थ औंशीका अवसरमा यसखाले कार्यक्रम गर्दै आएको छ ।

यसैगरी, सोही अवसर पारेर झापाको शनिअर्जुन १० स्थित कालिझोडामा महिलाहरुको स्वास्थ्य परीक्षण तथा ज्येष्ठ माताहरुलाई सम्मान गरिएको छ । वीरता लेडी जेसीज र सहनशिल महिला बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा सम्पन्न कार्यक्रममा १ सय १० जना महिलाको भिआइए परीक्षण गर्नुका साथै जिल्ला सहकारी संघकी जिल्ला सदस्य तुलसा कुँवरले उनीहरुलाई सम्मानित गरेका छन् ।

मातातीर्थ औंशीको सँगसँगैजसो परेको झापा र मोरङमा मुख्य रुपमा वसोवास गर्ने धिमाल जातिको प्रमुख चाड जात्री आइतवारबाट सुरु भएको छ ।

मोरङको लेटाङ १ स्थित भोगटेनीको धिमाल जातीको उद्गमस्थल राजारानीमा कुलदेवताको पूजा गरी जात्री पर्व सुरु गरिएको हो ।

त्यस अवसरमा ढुङ्गा र माटाका मुर्ति बनाई पुजाआजा गरिएको धिमाल जाती विकास केन्द्रका अध्यक्ष तेजबहादुर धिमालले बताए । सो स्थानमा जात्री मेला समेत आयोजना गरिएको उहाँले जानकारी दिनुभयो । मेलामा करिब आठ हजारको सहभागिता रहेको उनले जनाए । असार २ गते २ महिनापछि यो पर्व समापन गर्ने प्रचलन छ । ९८ वटा टोलमा सामुहिक रुपमा यो पर्व मनाइसकेर उर्लावारी मंगलवारेस्थित धिमाल जाति विकास केन्द्रमा संयुक्त रुपमा समापन गर्ने गरिएको छ ।

कोच आदिवासीहरुको महान पर्व सिरुवा पावनीको अवसरमा झापाको विर्तामोड २ स्थित चिमितवारीमा सोमवार कोचिला सिरुवा सांस्कृतिक कार्यक्रम तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

कोचिला गाभुर फ्रन्ट केन्द्रीय समितिको व्यवस्थापन र कोचिला गाभुर फ्रन्ट बिर्तामोड नगर उपसमितिको आयोजनामा सम्पन्न कार्यक्रममा पत्रकार तुलसीप्रसाद निरौला, पूर्व प्रधानपञ्च कृष्णप्रसाद राजवंशी, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक खडानन्द चौधरी, नेपाली सेनाका अवकाश प्राप्त महासेनानी चन्द्रप्रकाश राजवंशी, नेपाल प्रहरीका प्रहरी निरीक्षक चन्द्रकुमारसिंह राजवंशी गायक बलबहादुर राजवंशी सहित २० जनालाई सम्मानित गरिएको छ ।

विर्तामोड नगर प्रमुख ध्रुवकुमार शिवाकोटीले कोच आदिवासी समुदायको पहिचान झल्कने पहेँलो गम्छा समेतले सम्मान गरेका छन् ।

कार्यक्रममा कोच आदिवासी समुदायको पहिचान झल्कने सांस्कृतिक नृत्य समेत प्रस्तुत गरिएको थियो भने एकापसमा हिलो दलेर काद सिरुवा मनाइएको छ ।