काठमाडौं / विक्रम सवत् २०७५ विरोधकृत नाम संवत्सर हो। यो वर्षका राजा सूर्य तथा मन्त्री शनि ग्रह हुन्। राजा सूर्य र मन्त्री शनिले आपसमा शत्रुत्वको भाव राख्नाले वर्ष व्यवस्था उत्कृष्ट हुन मुस्किलै पर्ला, राष्ट्रिय समस्या समाधानतर्फ उदासीनता कायमै रहला। जनहितका कार्यक्रममा जनप्रतिनिधिहरूको खासै ध्यान नपुग्ला। यसैकारण कहिलेकाहीँ उच्छृंखल गतिविधिले बढावा नपाउलान् भन्न सकिँदैन।

विकास निर्माणका कार्यक्रमहरूले मान्यता पाए पनि अर्थ अभावका कारण निरन्तरता पाउन मुस्किल होला। राज्यशक्ति बलियो देखिए पनि राजनीतिक शक्तिहरूबीच समन्वय अभावले राजनीति मध्यमार्गमा अग्रसर होला। महत्त्वपूर्ण उपलब्धि नदेखिए पनि सामान्य सुधारको परिस्थिति भने आउनेछ। समाजमा चोरी–डकैती–लुटपाट–हत्या–बलात्कार आदि अशोभनीय घटनामा नियन्त्रणको अनुभूति होला। धार्मिक कार्यक्रमहरूको बहुलताले समाज सुसंस्कृत बन्दै जाला संक्रामक तथा प्राणघातक रोगव्याधि नियन्त्रण सफल नहोला। आशाप्रद उद्योगधन्दाको विकासले बेरोजगारी समाधानका लागि नयाँ कामको थालनी भए पनि कार्यान्वयन पक्ष सफल हुने देखिँदैन। वैदेशिक सहयोग प्रचूर मात्रामा बढे पनि त्यसले ठूलो परिवर्तन गर्ने सम्भावना देखिँदैन। व्यापार व्यवसायको क्षेत्रमा ठूलो प्रगति नभए पनि सामान्य जीवनयापनमा सहजता ल्याउला। जग्गाजमिनको कारोबारले आर्थिक स्थिति मजबुत बनाउला।

कृषिकार्य, पशु–पक्षीपालन र जलचर प्राणीको वयवसाय सन्तोषजनक रहनेछन्। प्रमुख खाद्यान्न धान, मकै गहुँ आदिको उत्पादन भए पनि भाउ अनियन्त्रित बन्ने लक्षण छ। बहुमूल्य धातुहरूको मूल्य सामान्य रहनेछ। भौतिक पूर्वाधार अभावमा सामुदायिक शैक्षिक संस्था गम्भीर प्रवृत्तिका होलान्। श्रमजीवी वर्गको सेवासुविधामा सम्बन्धित निकायबाट ध्यान नपुग्दा ध्यान नपुग्दा खिन्नता आउला। कलाकार र साहित्यकार, पत्रकार आदिको प्रगतिमा अवरोध आउला। व्यापारीवर्गको उन्नतिमा पनि अवरोध आउला। जलवायु परिवर्तनको प्रभावले तापक्रममा प्रतिकूलताले अशान्ति छाउला।

भूक्षय, भूस्खलन आदि प्राकृतिक समस्याले सताइरहला। कतै अनावृष्टिले खाद्य उत्पादनमा कटौती, कतै खण्डवृष्टिले सुख्खा खडेरीको प्रधानता र कहीँ अतिवृद्धिले समस्या देलान्।