बर्दिया/ मैनापोखर इलाका वन कार्यालयका कर्मचारीसंगको मिलेमतोमा बढैयाताल गाउँपालिकाअन्तर्गतको मानझुण्डी सामुदायिक वन सामुदायिक वनका पदाधिकारीले २६ गोलिया (८५ क्यूफुट) छपान नगरेको काठ काटेको आरोप उपभोक्ता समितिका सदस्यले लगाएका छन्।

उक्त वन कार्यालय कर्मचारी सुरेन्द्र चौधरी, माहादेव थारु र नवलकिशोर साहले मानझुण्डी सामुदायिक वनका अध्यक्ष शेरबहादुर रावलको मिलेमतोमा गत शनिबार छपान नगरिएको काठ पनि काटिएको आरोप उपभोक्ताले लगाएका हुन्। यस विषयमा वन कर्मचारी चौधरीसँग प्रश्न गर्दा उनले कारवाहीकै लागि ती काठ मानझुण्डी सामुदायिक वनको भवनमा राखिएकोे बताए। उक्त समितिका अध्यक्ष शेरबहादुर रावलले एक हजार ५८७ क्यूफुट काठ कटान गर्दा अपुग भएका कारण उपभोक्तालाई वितरणका लागि छपान नगरेका रुख पनि काटेको स्वीकार गरे। यसरी कर्मचारी र उपभोक्ता समितिको मिलेमतोमा उक्त सामुदायिक वनमा पहिले पनि पटक पटक रुख कटान गरी काठ तस्करी गर्ने गरेको उपभोक्ताले आरोप लगाउँदै आएका छन्।