काठमाडौं/ कलाकार रोमा न्यौपाने काठमाडौं जिल्ला अदालतले मागेको धरौटी बुझाउन नसकेपछि अाइतबार जेल चलान भएकी छन्।

काठमाडौं जिल्ला अदालतले ठगी मुद्दामा रोमासँग ३६ लाख ५० हजार रूपैयाँ धरौटी बुझाउन भनेकाे थियाे।

अदालतका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले उनीसँग बिगो बराबरको धरौटी माग गरेको थियाे। तर राेमाले अदालतले मागेकाे धराैटी बुझाउन सकिनन्। त्यसपछि उनलाइ केन्द्रीय कारागार चलान गरिएकाे छ।

महानगरीय प्रहरी परिसर काठमाडौंले फरक क्षमता भएकाहरुको नाममा खोलिएको लघुवित्तमार्फत ठगीको आरोपमा फरार रहेकी न्यौपानेलाई बिहीबार महाराजगञ्जबाट पक्रेको थियो।

प्रहरी परिसर काठमाडौंमा २०७२ असार १८ मा कोहिनु बस्नेतले दिएको जाहेरीमा विपक्षी बनाईएका रोमाका श्रीमान चिरन्जीवी पोखरेल पूर्पक्षका लागि थुनामा छन्।

सोही मुद्दामा फरार रहेकी रोमालाई प्रहरीले बिहीबार पक्रेर अदालतमा पेश गरेको हो। परिसरका अनुसार २०६९ चैत्र ७ मा कान्तिपुर दैनिकमा प्रकाशित विज्ञापनलाई पछयाउदै कोहिनुर सैसना रन्जित, धन्यश्वरी रन्जित र रमेश श्रेष्ठ रोमा र उनका श्रीमानको सम्पर्कमा पुगेका थिए।

लगानीको सुनौलो अवसर भन्दै प्रकाशित उक्त विज्ञापनमा लघुवित्तमा लगानीगरि आर्कषक ब्याज पाउने लोभमा चारैजनाले ४० लाख ५० हजार बुझाएका थिए। भिडिए नेपाल लघुवित्त नामाकरण गरेर कागजपत्र छापिएपनि राष्ट्र बैंकले अनुमति नदिएपछि योजना तुहिएको थियो।

प्रहरीले अदालतमा बुझाएको अनुसन्धान मिसिलमा पर्यटन क्षेत्रमा लगानीका लागि यो समुहले बारम्बार सामुहिक छलफल गरेको थियो।

करिब तीन वर्ष सहमतीमा कारोबारको साझेदारीका लागि जुटेको यो समुहमा लघु वित्त दर्ता प्रक्रिया पुरा नभएको र न्यौपाने परिवारले संचालन गरेका ब्यवसायको हिस्सेदारीमा समझदारी नजुटेपछि प्रहरीमा पुगेको थियो। प्रहरीमा कोहिनुरले दिएको जाहेरी अनुसार लघुवित्तमा लगानीका लागि उनले ३१ लाख, सैसनाको १ लाख, धन्यश्वरीको साढे २ लाख र रमेश श्रेष्ठले ६ लाख रोमाका दम्पत्तीलाई बुझाएका थिए। सो वापत भिडिए लघुवित्तका शेयर र अन्य कागजपत्र समेत प्राप्त गरेका थिए।

प्रहरीले सुरुमा आपसी छलफलमा सहमतीको प्रयास गरेको थियो। तर सहमती जुटन नसकेको र चारैजनाले दिएको रकम फिर्तागर्ने अवस्था रोमा र उनका श्रीमानको नभएपछि प्रहरीले ठगीमा जाहेरी लिएर अनुसन्धान अघि बढाएको थियो।

काठमाडौं जिल्ला अदालतमा पेश भएको ठगी मुद्दामा चिरन्जीबी पोखरेललाई अदालतको आदेशले पूर्पक्षका लागि थुनामा राखेर मुद्दा प्रक्रिया अघि बढिरहेको छ। सरकारले सवारी दुर्घटनामा एउटा खुट्टा गुमाएकी न्यौपानेको प्रतिभालाई कदरगर्दै युवा प्रतिभा पुरस्कार २०७२ प्रदान गरेको थियो। देश र विदेशमा स्टेज शोका लागि चर्चित तथा लोकप्रिय न्यौपाने शारिरीक रुपमा फरक प्रतिभा भएकी महिला हुन। साभारः नेपाल खबरबाट