विश्वकी चर्चित लेखिका जेके रोलिङले ‘ह्यारी पोट्टर’ लेख्नुअघि उनलाई पनि डिप्रेसनले सताएको थियो। बस्ने कुनै बास नहुनु, काम नहुनु र एउटा बच्चाको हेरचाह सबै आफ्नो जिम्मेवारीमा आएपछि उनी निकै तनावमा परेकी थिइन्।

मानिस जति चर्चामा रह्यो त्यति नै विवादित हुन्छ। बलिउड नायिकाको सन्दर्भमा पनि यो निकै मेल खान्छ। सधैं सुटिङमा व्यस्त रहने नायक-नायिका आफ्नो लागि भने उति समय निकाल्न भ्याउँदैनन्। त्यसैगरी पारिवारिक कार्यक्रममा पनि त्यति सहभागी हुन नभ्याउँदा जीवन एक्लिँदै जान्छ। यसले अन्ततः उनीहरू डिप्रेसनको सिकार हुन्छन्।

फिल्म ‘ओम शान्ति ओम’बाट बलिउडमा प्रवेश गरेकी नायिका दीपिका पादुकोणले आफू डिप्रेसनको सिकार भएर त्यसविरुद्ध लडेको एक टेलिभिजन अन्तर्वार्तामा बताएकी थिइन्। यो मानसिक रोगमाथि विजय प्राप्त गरेपछि उनले आफूजस्तै अन्य रोगीका उपचारका लागि एउटा केन्द्र नै स्थापना गरेकी छन्।

चर्चित क्रिकेट खेलाडी विराट कोहलीसँग विवाहबन्धनमा बाँधिएकी नायिका अनुष्का शर्माले खुलेरै आफू र आफ्नो परिवारले डिप्रेसनविरुद्ध लडेको बताएकी छन्। शर्माले यसको सफल उपचार गरिसकेकी छन्। मानसिक स्वास्थ्यका विषयमा समाजमा मानिसले खुलेर बोल्नुपर्ने उनको भनाइ छ।

र्‍यापर हनी सिंहलाई जीवनमा आफू कहिल्यै पनि डिप्रेसनरूपी अन्धकारबाट बाहिर निस्कन्छु भन्ने लागेकै थिएन। उनले आफूलाई कोठाभित्रै बन्द गरेर राखेका थिए। घरबाहिर कतै निस्कन चाहँदैनथे र आफन्त साथीभाइ लगायतका सबै वर्गबाट आफूलाई टाढै राखेका थिए। उनले दाह्री पालेका थिए भने कपाल नकाटेको महिनौं भइसकेको थियो। २० हजारभन्दा बढीको भीडअगाडि गाउनसक्ने यी गायक त्यति बेला चारपाँचजना अगाडि देख्दा पनि डराउँथे।

बलिउड चलचित्र उद्योगमा प्रवेश गरेको छोटो समयमै चर्चामा आएका नायक वरुण धवन चलचित्र ‘बदलापुर’को छायांकनका क्रममा छोटो समयका लागि डिप्रेसनको सिकार भएका थिए। चलचित्र ‘अ फ्लाइङ ज्याट’ बक्स अफिसमा त्यति नजमेपछि नायक टाइगर श्राफलाई पनि केही समय तनावले सताएको थियो। यसबाट मुक्ति पाउन उनले औषधि नै खानु परेको थियो। चलचित्र ‘हाइवे’ र ‘सर्वजित’को छायांकनका क्रममा नायक रणदीप हुडाले पनि डिप्रेसनविरुद्ध लडेका थिए।

बलिउडका किङ खान शाहरुख खान पनि सन् २०१० ताका डिप्रेसनको सिकार भएका थिए। उनलाई ढाडको दुखाइका कारण निकै तनाव भएको थियो। तर, पछि उनको स्वास्थ्य ठीक भएपछि उनी निकै खुसी हुन थाले र आफ्नो मानसिक रोगलाई पनि पन्छाए।

नायिका मनीषा कोइराला बलिउड चलचित्र उद्योगमा जति चर्चित भइन् त्यति नै उनका विषयमा धेरै विवाद बाहिर आए। डिप्रेसनकै सिकार भएका कारण आफ्ना पूर्वपति सम्राट् दाहालसँग मनीषाले पारपाचुके लिएकी हुन् भन्ने विषय पनि भारतीय सञ्चारमाध्यममा चर्चाको विषय बन्यो।

बलिउडमा मात्रै नभई हलिउडका नायिकाहरू पनि आफ्नो जीवनको कुनै खण्डमा डिप्रेसनको सिकार भएको पाइन्छ। किशोर अवस्थामा नायिका एन्जेलिना जोली पनि यो रोगविरुद्ध लडेकी थिइन्। उनले आफूमा भएको खालीपना र तनावविरुद्ध लड्नकै लागि पनि विभिन्न मानवीय र स्वयंसेवी काम गरेको खुलासा गरेकी छन्।

विश्वकी चर्चित लेखिका जेके रोलिङले ‘ह्यारी पोट्टर’ लेख्नुअघि उनलाई पनि डिप्रेसनले सताएको थियो। बस्ने कुनै बास नहुनु, काम नहुनु र एउटा बच्चाको हेरचाह सबै आफ्नो जिम्मेवारीमा आएपछि उनी निकै तनावमा परेकी थिइन्। यति हुँदाहुँदै पनि रोलिङले आफ्नो धैर्य पटक्कै गुमाइनन् र यस रोगविरुद्ध आफ्नो अथाह साहस र हिम्मतका कारण विजय प्राप्त गरेरै छाडिन्।

चर्चित गायिका सेलेना गोमेज हाल डिप्रेसनको उपचार गराइरहेकी छन्। उनले पनि डर लाग्ने, चिन्ता लाग्ने लगायतका लक्षण देखा परेपछि आफ्नो उपचार सुरु गरेकी हुन्। आफूमै विश्वास गरेर अगाडि बढ्दै यस रोगलाई भगाउने प्रण उनले गरेकी छन्।

एजेन्सी