काठमाडौं/ वातावरण तथा जनसंख्या मन्त्री लालबाबु पण्डित स्वास्थ्य मन्त्री बन्ने संभावना बढेको छ । मन्त्री मण्डलको अन्तिम नामावली टुंगो लाग्दै गर्दा पण्डितलाई उक्त जिम्मेवारी दिने विषयमा छलफल चलेको हो।
केपी ओली प्रधानमन्त्री रहेको वर्तमान सरकारमा नियुक्त पहिलो दुई मन्त्री मध्ये एक उनलाई स्वास्थ्य मन्त्रालय सम्हाल्न प्रस्ताव गरिएको एमाले स्रोतले बताएको छ ।
हाल वातावरण तथा जनसंख्या मन्त्री छन् । उक्त मन्त्रालयको वातावरण, बनसँग र जनसंख्या, स्वास्थ्य मन्त्रालयमा गाभिएको छ।
वन तथा वातावरण मन्त्रालय माओवादीका भागमा परेको छ । त्यसकारण जनसंख्या जोडिएको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पण्डितले पाउने विषयमा छलफल चलेको हो।
मन्त्री पण्डितले पार्टीले दिएको जिम्मेवारी स्वीकार्ने बताएका छन् । उनले स्वास्थ्यखबरसँगको कुराकानीमा भने, ‘पार्टीले गरेको निर्णय अनुसार जिम्मेवारी सम्हाल्छु । यही मन्त्रालय पाउनुपर्छ भन्ने मेरो कुनै अडान छैन ।’
स्वास्थ्य तथा जनसंख्या मन्त्रीका रुपमा दोहोरिने चाहना पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारीले पनि राखेका छन् । उनी सोही अनुसार लबिइङमा जुटेका छन् । यसैगरी सूचना तथा सञ्चार मन्त्रालयको दाबी गरिरहेका युवा नेता योगेश भट्टराईको दोस्रो रोजाई स्वास्थ्य मन्त्रालय छ ।
































