राजविराज/ वैदेशिक रोजगारीका कारण मजदुर अभाव हुन थालेपछि सप्तरीका इँटा उद्योगमा मेसिनको प्रयोग सुरु भएको छ।
नेपाली मजदुर नपाएपछि दुई महिनाअघिसम्म भारतीय मजदुर ल्याएर काम गराउँदै आएको शम्भुनाथ नगरपालिका–५, कठौना स्थित जय शिव इँटा उद्योगले अहिले ‘ब्रिक मेकिङ मेसिन’ प्रयोगमा ल्याएको छ। भारतीय मजदुरले एड्भान्समा पैसा लिएर काममा नआएपछि बाध्य भएर मेसिन मगाउनुपरेको सञ्चालक दुर्गानन्द साहले बताए।
करिब १ करोड ५० लाख रुपैयाँको लागतमा भारतको नयाँ दिल्लीबाट किनेर ल्याएको मेसिनले प्रतिघन्टा १० हजारभन्दा बढी इँटा उत्पादन गर्ने उनले बताए। १ सयभन्दा बढी मजदुरले गर्ने काम अहिले मेसिनले गरिरहेको उनको भनाइ छ। मेसिनको प्रयोगले फिनिसिङ राम्रो हुँदा इँटाको माग पनि बढेको सञ्चालक साहले बताए।
उत्पादनमा कमी आउँदा कृषि पेशामा घट्दो आकर्षण र बेरोजगारीका कारण अधिकांश युवा विदेशिन थालेपछि जिल्लामा मजदुरको अभाव छ। उक्त अभाव परा गर्न सप्तरीमा अधिकांश इँटा उद्योगले भारतका विभिन्न स्थानवाट सामूहिक रुपमा मजदुर भित्र्याउने गरेको जानकारी दिँदै साहले भने, ‘उनीहरुले पनि कामका समयमा बेइमानी गर्न थालेपछि मेसिन मगाउनुपर्ने बाध्यता भयो।’
एड्भान्स रकम लिएका मजुदरले कामको बेला धोका दिँदा तीन महिनाअघि मात्रै आफनो १२ लाख रुपैयाँ डुबेको उनले गुनासो गरे। साहले मेसिनको प्रयोग सँगै मजदुर खोज्नुपर्ने झन्झट र बेइमानीको चिन्ता हटेको बताए। इँटा उत्पादनका लागि पूर्वाञ्चलमै पहिलो पटक आफूले नै मेसिन प्रयोगमा ल्याएको साहको भनाइ छ।
सप्तरीमा हाल ७० वटाभन्दा बढी इँटा उद्योग सञ्चालनमा रहेको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख राधाकृष्ण पोखरेलले जानकारी दिए।