मोरङ/ मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ४ ले ६ महिनाको अवधिमा करिव ६ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

४ नम्बर वडा कार्यालयले विभिन्न सिफारिस, मालपोत, जरिवाना लगायत गरी १ सय ८० दिन अर्थात ६ महिनामा ५ लाख ७६ हजार रुपैयाँ राजस्व संकलन गरेको वडाध्यक्ष गोविन्दबहादुर भण्डारीले पत्रकार सम्मेलनमा जनाए ।

पुस मसान्तसम्मको कार्यअवधिमा २ सय ७० वटा नागरिकता सिफारिस, १९ वटा नाता प्रमाणित, ३ सय ९८ वटा अन्य सिफारिस, ६० वटा विवाह दर्ता, १ सय २२ वटा जन्म दर्ता, २९ वटा जन्म दर्ता र ५४ वटा बसाई सराई दर्ता गरिएको उनले पत्रकारहरुलाई जानकारी गराए । वडावासीका प्रशासनिक कामका साथै विकास निर्माणका क्षेत्रमा उल्लेखनीय कार्य गर्न सकेको उनको दावी थियो ।

यस्तै, वडा कार्यालय मार्फत् सञ्चालित साना ठूला गरी ५० वटा विकास निर्माणका योजना मध्ये ९० प्रतिशत उपभोक्ता समिति गठन भइसकेको छ । जसमा ५० प्रतिशत योजनाहरु सुचारु भइसकेका छन् भने केही साना योजनाहरु सम्पन्न समेत भएको कार्यालयले जनाएको छ ।

नगरपालिकाबाट सो वडाका विभिन्न शीर्षकमा विनियोजन भएको १ करोड ३४ लाख मध्ये महिला, बालबालिका, अपाङ्गगता भएका, जेष्ठ नागरिक, आदिवासी जनजाति, विभिन्न संघसंस्था, बाटो, पुल, कल्भर्ट, विजुली, शिक्षा, पैनी, कृषि लगायतका क्षेत्रमा खर्च भइरहेको छ ।

यस अवधिमा वडाध्यक्ष भण्डारीको अगुवाईमा वडा सदस्यहरुसहितको उपस्थितिमा प्राकृतिक विपत्तिमा परेकाहरुलाई राहत वितरणलगायतका मानवीय कार्यहरु पनि गरेको छ । जसमा आगलागिमा परेका कविहाङ लिम्बूलाई १० हजार, विपन्नताका कारण आत्महत्या गरेका प्रकाश कार्कीका परिवारलाई १० हजार, शितलहरका कारण कष्टकर जीवन विताईरहेका विपन्न १३ परिवारलाई न्यानो कपडा वितरणसमेतको पहल र अगुवाई गरेको उल्लेख छ ।

वडा कार्यालयले विभिन्न समयमा विकास निर्माण भइरहेका क्षेत्र, शैक्षिक क्षेत्र तथा बजार क्षेत्रको अनुगमन समेत गर्दै आएको छ ।