काठमाडौं/ आरोहणको क्रममा लोबुचे इष्ट (६, ११९ उचाई) हिमालमा ज्यान गुमाएका अष्ट्रियन आरोहीको शव एक महिना बित्दा पनि हिमालमै रहेको छ। शवलाई हिमालमा राख्न नमिल्ने कानुनी प्रावधान भए पनि आयोजक कम्पनी राम्दुङ एक्पिडिसनले शव नल्याएको हो।
पुस १४ गते आरोहणका क्रममा ४१ वर्षीय मारकस चेटको मृत्यु भएको थियो। नेपाल पर्वतारोहण संघले भने शव ल्याउन पहिल्यै निर्देशन दिएको थियो। आयोजक कम्पनी राम्दुङ एक्पिडिसनले शव नल्याएको भन्दै तत्काल ल्याउन निर्देशन दिएको संघका अध्यक्ष शन्तवीर लामाले बताए।
कानुनमा हिमाल आरोहणका क्रममा मृत्यु भएका आरोहीको शव आयोजक कम्पनीले आधारशिविरसम्म ल्याई परिवारको सल्लाहमा व्यवस्थापन गर्नु पर्ने उल्लेख छ। हिमालमै शव छाडे कानुनी कारवाही गर्ने चेतावनीसहित तत्काल शव ल्याउन निर्देशन दिएको लामाले बताए।
अन्य अग्ला र होचा हिमालमासमेत मृत्यु भएका आरोहीको शव हिमालमै छोड्दा आरोहीमा नकरात्मक असर पर्ने गरेको छ। संघले हेर्दै आएको २७ वटा हिमाल मध्ये पर्ने लोबुचे हिमालमा आरोहीको मृत्यु भएपछि संघले पटक-पटक ताकेतासमेत गरी सकेको जनाएको छ।
आरोहणमा खटिएका गार्इड पुष्कर ठकुरीसहित टोलीको वेवास्थाका कारण विदेशी आरोहीको मृत्यु भएको पुष्टि भएको छ। बिना अनुभवका गाईड प्रयोग गर्नु र लापरवाही गर्दा विदेशी आरोहीले अकालमै ज्यान गुमाउनु परेको नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रर्दशक संघका महासचिव फूर्वानाम्गेल शेर्पाले बताए।
आरोहणमा प्रयोग हुने गाईडको क्षमतालाई पनि राज्यले चासो राख्दै सक्षम गाईड प्रयोग गर्न कानुनी व्यवस्था गर्नु पर्ने शेर्पाले माग गरे। हालसम्म नेपाल पर्वतारोहण नियामवलीले एक पर्वतारोही एक गाईड प्रयोग गर्नु पर्ने भने पनि दक्षतामा कुनै उल्लेख नगर्दा समस्या हुने गरेको हो।