पानवारी/सहिद स्मृति मावि धरान–८ ले विद्यालयलाई कक्षा ११ र १२ मा स्तरवृद्धि गर्ने तथा कक्षा ९ देखि कम्प्युटर शिक्षा सञ्चालन गर्ने उदेश्यले सञ्चालन गरेको पुराणमा ५० लाख भन्दा बढी रकम संकलन भएको छ । 
माघ १० गतेबाट सञ्चालन भएको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञबाट विद्यालयलाई ५० लाख भन्दा बढी आर्थिक रकम संकलन भएको हो । पुराणको अन्तिम दिनमा विद्यालयका पूर्व विद्यार्थी समेत रहेका काठमाडौं निवासी पूर्व एसएसपी छत्रबहादुर प्रधानले ३ लाख रुपैया दान गरेका छन् । त्यस्तै विद्यालयका पूर्व विद्यार्थी एवं तत्कालिन धरान नगरपालिकाका पूर्व मेयर मनोजकुमार मेन्याङ्बोले १ लाख रुपैया, धरान–८ निवासी भरत पराजुलीले ५१ हजार, विद्यालयकी पूर्व शिक्षिका सीता कटवाल बस्नेतले ५१ हजार रुपैया दान गरेका छन् ।
त्यस्तै विद्यालयका छात्रावृत्ति कोषका अक्षयदाता समेत रहेका धरान–१५ निवासी भरत पराजुलीले ५१ हजार रुपैया दान गरेका छन् । बुधबार भएको समापन समारोहका प्रमुख अतिथि राष्ट्रिय जेष्ठ नागरिक महासंघका महासचिव एवं पूर्व एसएसपी छत्रबहादुर प्रधानले विद्यालयले प्राविधिक शिक्षा दिने भनी अघि सारेको योजना समय सान्दर्भिक भएकोले आवश्यक परेको खण्डमा थप सहयोग जुटाउने प्रतिबद्धता समेत व्यक्त गरेका थिए । कार्यक्रममा विशेष अथिति धरानका पूर्व मेयर मनोजकुमार मेन्याङ्बो, पूर्व विद्यालय व्यव्स्थापन समिति अध्यक्ष अकलबहादुर मेन्याङ्बो, पूर्व सुनसरी जिल्ला उपसभापति बंशि मोक्तान तथा बराह ज्वेलरी इण्डष्ट्रिज प्रालि धरानका शाखा प्रमुख मानबहादुर विक रहेका थिए ।
कार्यक्रमका अध्यक्ष विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा मूल समारोह समितिका संयोजक ऋषिराम पौडेलले विद्यालयमा धेरैजसो विद्यार्थी विपन्न वर्गका रहेकोले उनीहरुलाई प्राविधिक शिक्षाबाट बञ्चित हुन नपरोस् भनी प्राविधिक शिक्षा दिने उद्देश्य पुरा भएकोमा सबैलाई धन्यवाद व्यक्त गरेका थिए । विद्यालयका प्रधानाध्यापक रामबहादुर विष्टले विद्यालयले आयोजना गरेको कार्यक्रम सफल पारीदिनुहुने सम्पूर्णलाई आभार व्यक्त गरेका थिए ।
 
                     
         
                                        
                                                                                                 
        






























