शनिश्चरे/ मोरङको पथरीशनिश्चरे नगरपालिकामा विकट वडाका रुपमा चिनिने वडा नम्बर ४ को च्याङ्गा होलिमा निर्माण अलपत्र परेको पुलको निर्माण कार्यलाई सुचालु गरिएको छ ।
नगरपालिका कार्यालयको आर्थिक वजेटमा बाँकी काम पुरा गर्ने कार्यको शुरुवात गरिएको छ । वडाध्यक्ष गोविन्दबहादुर भण्डारी, सदस्यहरु अम्बर बराइली, तुलसा दर्जी, दिलु मगर र खड्गबहादुर सुस्लिङ मगर तथा वडा सचिव दीर्घ रायले संयुक्तरुपमा मंगलबार पुलको बाँकी कामको थालनी गरेका हुन् ।
०७० सालदेखि निर्माण थालिएको पुलमा जिल्ला विकास समिति कार्यालयबाट २ पटक गरी २७ लाख रुपैयाँ खर्च भइसक्दा पनि पुल सम्पन्न हुन नसकेपछि नगरपालिका कार्यालयको सहयोगमा पुलको काम पुरा गर्ने अभियान सञ्चालनमा रहेको छ ।
पुलको स्वरुप तयार भएपनि वरपर माटो पुर्ने सहितको पुललाई पूर्णता दिने काम बाँकी रहेको अवस्थामा नगरपालिकाले ५ लाख रुपैयाँ विनियोजन गरेपछि काम अगाडि बढेको निर्माण उपभोक्ता समिति अध्यक्ष तिलबहादुर सार्कीले जनाए ।