भद्रपुर/ आफ्नो कला संस्कृतिको जगेर्नाका निम्ती सुन धितो राखेर महोत्सवलाइ निरन्तरता दिदै आएको पाइएको छ । झापाको भद्रपुर ८ स्थित किराँत कल्याण समितिद्धारा प्रत्येक वर्ष किराँतहरुको मुख्य चाड उधौलीको अवसर पारेर किराँत कोलेनीमा महोत्सवलाइ निरन्तरता दिदै आएको हो ।

किराँत महोत्सव समिति भद्रपुरले आइतबार साँझ पत्रकार सम्मेलन गरी निमार्णाधीन भवन तथा महोत्सवको उद्देश्यका वारेमा जानकारी गराएको छ । विगत ११वर्ष देखी मेलाको आयोजना गरी प्रत्येक वर्ष बचेको रकमवाट सामुदायीक भवनमा खर्च गरिरहेको किराँत कल्याण समितिका सदस्य मनोज सुब्वाले जनाए ।

महोत्सवमा राष्ट्रिय कलाकार इन्दिरा जोशी , प्रमोद खरेल, विष्णु सापकोटा (हर्के हल्दार) लगायत स्थानीय कलाकारको बेजोड प्रस्तुती रहने मेला आयोजकका संयोजक जीवन सुब्वाले बताए । मेलामा गेट टिकट नभएकोले सवैलाई प्रस्तुती अवलोकनका लागी आयोजकले अनुरोध समेत गरेको छ ।

महोत्सवमा झापा वाहिर इलाम ,ताप्लेजुङ् मोरङ् साथै छिमेकी भारतवाट उल्लेखिय मात्रामा मानिसको आउनेक्रम जारी रहेकोले अन्य वर्षको तुलनामा यसपटक मेलाको चहलपहल बढेर गएको सुव्बाले बताए । माघ २८ गते सम्म सञ्चालन हुने महोत्सवमा किराँतजातीका विभिन्न जातिय भेषभूषा, सामाग्री, रोटेपिङ्ग, हाउजी खेल लगायत एक दर्जन भन्दा वढी विभिन्न प्रकारका स्टल राखिएको समितिले जनाएको छ ।

शहरको विकास र स्थानको अभावलाइ मध्यनजर गरि चार वर्ष देखि निर्माण भइरहेको किराँत सामुदायिक भवन सम्पन्नका लागी सो क्षेत्रका किराँत परिवारले आफ्नो क्षमता अनुसारको सुन धितो राखेर भवन निर्माणलाई निरन्तरता दिदै आएका छन् ।

भद्रपुर ८ दश लाख ८ हजारको लागतमा दुइ कट्ठा ५ धुर जगा खरिद गरी सवा करोडको लागतमा निर्माणाधिन तीन तले किराँत सामुदायीक भवनलाई निरन्तरता दिएको समितिका सदस्य गोपाल लिम्बुले बताए । भवन निर्माणको लागी स्थानीय तह, भवन डिभिजन कार्यालय, नेपाल सरकारवाट ५३ लाख र अन्य निकायवाट सहयोग गरेपनि रकम अपुग भएकोले घरमा भएको यथाशक्ति सुन धितो राखेर व्याज तिर्दै भवनलाई निरन्तरता दिएको लिम्बुको भनाई छ ।

भवन निर्माण अन्तिम चरणमा पुगिसकेकोले हालसम्म ९० लाख रकम खर्च भइसकेको उनले बताए । कल्याण समितिमा ७० जना सदस्य आबद्ध रहेका छन् भने प्रत्येक सदस्यले २५ हजार देखि २ लाखसम्म सहयोग रकम प्रदान गरेको समितिले जनाएको छ ।

सोहि कार्यक्रममा केहिदिन अघि मोटरसाइकल दुर्घटनामा परि घाइते भएका भद्रपुरका पत्रकार दिपक अधिकारीको उपचारको लागि समितिले ५ हजार नगद समेत पत्रकार गोपाल गिरी मार्फत हस्तान्तरण गरि सहयोग गरेको थियो ।