काठमाडौं/ लागुऔषध कोकिनसहित दुई विदेशी नागरिक ठमेलबाट पक्राउ परेका छन्।

कालो सुटकेशभित्र लुकाइछिपाई राखेको अवस्थामा ठमेलको एक होटलबाट ९०५१५६७ नम्बरको पासपोर्ट भएका २९ वर्षे बोलिभियन नागरिक फ्रेड्डी मामानी अन्ड्ला र पासपोर्ट नम्बर ब्ब्९१५५८३२ बाहक २८ वर्षकी थाई महिला खुवान्जाई खानारात पक्राउ परेका हुन्। उनीहरुको साथबाट एक किलो ९५८ ग्राम अवैध लागुऔषध कोकिन बरामद भएको छ।

बोलिभियन नागरिक फ्रेड्डी ब्राजिल हुँदै अफ्रिकी मुलुक इथियोपियाबाट भारत भएर नेपाल प्रवेश गरेका थिए भने महिला थाइल्यान्डबाट सोझै नेपाल आएकी थिइन्। कोकिन लेनदेन गर्दै गरेको अवस्थामा उनीहरुलाई होटलबाटै पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ।

बरामद कोकिन बोलिभियाबाट ब्राजिल, इथियोपिया हुँदै भारतको रुट प्रयोग गरी नेपालको बाटो हुँदै बैंककबाट तेस्रो मुलुक पठाउन लागिएको प्रहरी अनुसन्धानले देखाएको छ।

यसअघि पनि २०७३ साउन र २०७४ असोजमा दुई जना बोलिभियन नागरिक पक्राउ परेका थिए। उनीहरुबाट ६ किलोभन्दा बढी कोकिन प्रहरीले बरामद गरेको थियो।

नेपाल लाइभ