भक्तपुर/ चाँगुनारायण नगरपालिका-९ ताथलीस्थित ब्रह्मायणी मन्दिर परिसरको पार्टीमा मृत फेला परेका सीताराम सैंजूको हत्या भएको पुष्टि भएको छ। चाँगुनारायण-९ ताथलीका ५५ वर्षीय सैंजूले मादक पदार्थ सेवन गरेर महिलालाई दुर्व्यवहार गर्दा ज्यान गुमाउनुपरेको हो।
मंगलबार राति मादकपदार्थ सेवन गरेर आएका सैंजूले पार्टीमा सुतिरहेकी ३० वर्षीया रीता राईमाथि हात हालेको महानगरीय प्रहरी परिसर भक्तपुरले बताएको छ। मादकपदार्थ सेवन गरेर आफूमाथि हातपात गरेपछि रीताले संैजूमाथि इँट प्रहार गरेको परिसरका प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए।
ओखलढुंगाको सिस्नेरी ८ घर भई हाल भक्तपुरको गलैंचा कारखानामा काम गर्दै आएकी रीता मंगलबार राति मन्दिर पुगेकी थिइन्। सैंजू पनि भक्तपुरमा भएको नवदुर्गा नाच हेरेर मादकपदार्थ सेवन गरी ब्रह्मायणी मन्दिर पुगेका थिए। सोही क्रममा मादकपदार्थ सेवन गरेका सैंजूले रीतामाथि हातपात गरेको अनुसन्धानका क्रममा खुलेको प्रसाईंले बताए।
सैंजूको हत्या गरेको आशंकामा प्रहरीले बुधबार एक महिलासहित तीनजनालाई पक्राउ गरेको थियो। ‘आफूमाथि हातपात गरेपछि रीताले सैंजूको टाउकोमा इँट प्रहार गरिन्', उनले भने, ‘इँट प्रहारबाट सैंजू ढलेपछि आफू भागेको रीताले बयान दिएकी छन्। रीता भागेपछि ब्रह्मायणी मन्दिरका कुरुवा रामबहादुर लामाले घाइते सैँजूलाई पानी खुवाएको बयान दिएका छन्।'
अभियुक्त रीता राई पनि मादकपदार्थ सेवन गरेको अवस्थामा बुधबार पक्राउ परेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतको भनाइ छ। सैंजूको हत्या गरेको आशंकामा प्रहरीले बुधबार एक महिलासहित तीनजनालाई पक्राउ गरेको थियो। यसमा रीता र रामबहादुर घटनामा संलग्न भएको पाइएकाले नियन्त्रणमा राखिएको परिसरले जानकारी दिएको छ। ताथलीस्थित इँटाभट्टामा काम गर्ने मजदुरलाई पनि छाडिएको छ।
अहिलेसम्मको अनुसन्धानमा रीताले सैंजूको हत्या गरेको देखिएकाले उनीमाथि ज्यान मुद्दा चलाइने प्रहरी नायव उपरीक्षक प्रसाईंले जानकारी दिए। बिहीबार सार्वजनिक बिदा भएकाले शुक्रबार अदालतमा पेस गरी थप अनुसन्धानका लागि म्याद थप गरिने परिसरले बताएको छ।