भक्तपुर/ भक्तपुरको सिर्जनानगरमा बिहीबार राति भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्। सूर्यविनायक नगरपालिका–५ सिर्जनानगरमा काठमाडौँबाट सूर्यविनायकतर्फ आउँदै गरेको बा २ ज २०४१ नम्बरको ट्याक्सीलाई सोही दिशाबाट आउँदै गरेको बा ४४ प ५१५२ नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिएलगत्तै काठमाडौँबाटै आएको अर्को बा ८५ प ७०४६ नम्बरको मोटरसाइकल समेत ठक्कर खाई दुर्घटना हुँदा बा ४४ प ५१५२ नम्बरको मोटरसाइकल चालक दोलखा भीमेश्वर नगरपालिका–१३ बस्ने ३५ वर्षीय रोशनकुमार बस्नेतको मृत्यु भएको छ।
दुवै मोटरसाइकलमा सवार चारजना घाइते भएका छन्। दुर्घटनामा घाइते भएका बस्नेतको उपचारका क्रममा भक्तपुर अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए। बा ४४ प ५१५२ नम्बरको मोटरसाइकलमा सवार काभ्रे कोशीपारि–८ बस्ने २४ वर्षीय केदार खनाल, बा ८५ प ७०४६ नम्बरको मोटरसाइकल चालक दोलखा सैलुङ–१ बस्ने २० वर्षीय मनोज योञ्जन र सोही मोटरसाइकलमा रामेछाप निगालपानी–३ बस्ने १९ वर्षीय धावा मोक्तानको भने भक्तपुर अस्पतालमा उपचार भइरहेको छ।
ट्याक्सी चालक धनकुटा मुगा–५ घर भएका र हाल काठमाडौँ बानेश्वर बस्ने ४० वर्षीय गंगाबहादुर थापासहित ट्याक्सी र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रसाईंले जानकारी दिए। रासस