कमेडियन कपिल शर्माको कार्यक्रमको नियमित दर्शक हुनुहुन्छ भने तपाईंको मनमा पक्कै प्रश्न उठेको हुनुपर्छ, अहिले उनी के गरिरहेका होलान् ?

उनको कमेडी सो बन्द भएको झन्डै ६ महिना भइसक्यो । त्यो समयमा उनले भनेका थिए कि खराब स्वास्थ्य र आफ्नो आउँदै गरेको फिल्म ‘फिरंगी’का कारण केही समयलाई ‘ब्रेक’ लिनुपर्‍यो । उनले यो पनि भनेका थिए कि छिट्टै टेलिभिजनमा फर्किनेछु ।

उनको फिल्म रिलिज भइसक्यो, स्वास्थ्य पनि ठीक भइसक्यो । तर, कपिल टेलिभिजनमा किन ‘कमब्याक’ भएका छैनन् । अहिलेसम्म कुनै आधिकारिक खबर बाहिर आएको छैन ।

सामाजिक सञ्जालमा निकै सक्रिय रहने कपिल पछिल्ला दिन कहिलेकाहीँ मात्रै केही ट्विट गरिरहेका छन् । केही तस्बिर पनि सेयर गरेका छन् । तर, फेरि उही प्रश्न उठ्छ, आखिर उनी कहाँ छन् र के गरिरहेका छन् ?

यी सवालको जवाफ सायद कपिलले हालै स्न्यापच्याटमा राखेको भिडियोमा लुकेको छ । यो भिडियो उनले इन्स्टाग्राममा पनि सेयर गरेका छन् । भिडियोमा उनले निकै मजाकसाथ भनेका छन्, ‘म सोचिरहेको छु कि मेरो मुख यति गोलो किन भयो ?’

जवाफ पनि उनी स्वयंले दिएका छन् । भनेका छन्, ‘म सुन्तला धेरै खान्छु, यसकारण मेरो मुख पनि सुन्तालाजस्तै गोलो भयो ।’

अनुहार बिगारिएको भिडियोमा उनको अभिव्यक्ति सुनेर र मान्छेहरूले ठानिरहेका छन् कि कपिल ‘कमब्याक’ गर्ने तयारीमा छन् । यो अपेक्षा उनको फ्यानले गरेको पनि देखिन्छ । किनभने उनले सार्वजनिक गरेको छोटो भिडियो १३ लाखभन्दा धेरैले हेरिसकेका छन् । कतिपयले कपिलको कमेडी मिस गरिरहेको कमेन्ट गरेका छन् । केहीले प्रश्न पनि गरेका छन्– टेलिभिजनमा कहिले फर्किने ?

यद्यपि, कपिलले यस्ता सवालको जवाफ अहिलेसम्म दिएका छैनन् । तर, उननले ‘कमब्याक’को प्रयास गरिरहेको बुझ्न गाह्रो पर्दैन । पछिल्लोपटक सार्वजनिक गरेको छोटो भिडियोलाई लिएर यस्तै अड्कल गरिएको छ ।

गत वर्ष सोनी इन्टरटेनमेन्ट टेलिभिजनका कार्यकारी उप–प्रमुख दानिश खानले कपिल शर्मा टेलिभिजनमा छिट्टै फर्किने बताएका थिए । सो बन्द हुनुअघि केही महिना कपिल तनावमा पनि गएका थिए । कमेडियन सुनील ग्रोवरलाई जहाजमा यात्राकै क्रममा सबैसामु गाली गरेको तथा रक्सीको मातमा हंगामा गरको आरोप चर्चामा आएपछि उनी तनावमा आएका थिए । तर, उनले यस्तो आरोप खण्डन गर्दै सामान्य झगडा मात्रै भएको बताएका थिए ।

कपिल शर्मा टेलिभिजनका सफल स्टारको सूचीमा पर्छन् । उनको कमेडी सो निकै सफल हुनु नै उनी स्टार हुनुको कारण हो । सानो पर्दामा रहेर पनि ठूलो पर्दाका स्टारलाई टक्कर दिने ल्याकत राखेकैले कपिल निकै चर्चामा रहे । तर ‘कमेडी नाइट विद कपिल’को प्रसारण बन्द भएपछि टेलिभिजन दुनियाँमा निकै हल्ला चल्यो– कपिल शर्माको सोले अब पुरानो स्थान छाडिसक्यो । के अब फेरि टेलिभिजनमा फर्किए भने उनले आफ्नो पुरानो क्रेज फर्काउन सक्लान् ?