बैतडी/ भारतको बैङ्गलोरमा एक नेपाली वृद्ध सोमबार बेवारिसे अवस्थामा फेला परेका छन् ।
छोरासँगै दुई महिना अगाडि मजदूरीका लागि भारत गएका बैतडीको पुर्चौँडी नगरपालिका–६, भूमिराज तिरकाली घर बताउने ६० वर्षीय मन्नो साउद बैङ्गलोरको लालबाग गेटमा फेला परेका भारतबाट नरेश महराले टेलिफोनमार्फत राससलाई जानकारी दिए।
मानसिक अवस्था ठीक नभएका मन्नो दुई महिनादेखि घरपरिवारको सम्पर्क बाहिर रहेकामा बेवारिसे अवस्थामा फेला परेका हुन् । उनले भने, “घरपरिवार खोज्दै बेवारिसे अवस्थामा सडकमा देखा परेका मन्नोलाई हामीले नियन्त्रणमा लिएका हौँ ।”
मन्नो अहिले आफूहरुसँग रहेकाले उनलाई नेपाल पठाउन तयारी भइरहेको महराले जानकारी दिए । उनले भने, “नेपाल पठाउनलाई आर्थिक संकलनमा जुटेका छौँ ।”