बेनी/ म्याग्दीको रघुगंगा गाउँपालिका(१ बेगखोलामा निर्माणधीन झोलुंगे पुलबाट खसेर सोमबार साँझ दुई मजदुरको ज्यान गएको छ। निर्माणधीन अवस्थामा रहेको पुलबाट खस्दा कैलाली जिल्लाको महोन्याल गाउँपालिका(५ का धनबहादुर क्षत्री र सोही गाउँपालिकाका(४ का पुरन थापाको ज्यान गएको वडाअध्यक्ष बिलबहादुर फगामीले बताए। वेगखोलाको बेग र बादुक गाउँलाई जोड्ने बेगखोलामा नेपालकै अग्लो र लामो झोलुंगे पुल तीन महिनादेखि निर्माणाधीन रहेको छ ।

‘निर्माणकार्य अन्तिम चरणमा पुगेको पुलको बाँदुक तर्फबाट बास बस्न फर्कनेबेलामा चिप्लिएर उनीहरु पुलबाट खसेका थिए । त्यसको एकघण्टापछि १ सय ५० मिटर तल खोला किनारमा उनीहरुको शव भेटिएको वडाअध्यक्ष फगामीले जानकारी दिए ।अन्तिम चरणमा पुगेको पुलबाट मजदुरको खसेर मृत्यु भएपछि स्थानीयबासीसमेत दुखित भएको फगामीले बताए । दिनभरि पुल निर्माणका लागि सिमेन्ट बोकेका क्षेत्री र थापा साढे पाँच बजे पुलबाट बाँदुक जाने क्रममा खसेका थिए । पुल निर्माणमा संलग्न अन्य कामदा, जनप्रतिनिधि, स्थानीयबासी घटनास्थलमा पुगेपछि प्रहरीलाई जानकारी गराएका थिए । बेगखोला गाउँबाट बाँदुग जोड्ने झोलुङ्गे पुलको लठा तान्ने, दुवैतर्फको मेन ब्लकका साथै मुख्य संरचनाको निर्माण कार्य सकिएपछि फिनिसिङको काम भइरहेको थियो । उक्त पुलको काम १० प्रतिशत मात्रै बाँकी रहेको निर्माणमा संलग्नले बताएका छन् । यो खबर आजको अन्नपूर्णपोष्टले छापेको छ ।
प्रहरी निरीक्षक सन्तोष रोकाले पोष्टमार्टमका लागि मृतकका शव जिल्ला अस्पताल बेनी ल्याउन प्रहरी टोली परिचालन भएको जानकारी दिएका छन्। कैलालीबाट आएका आफन्तहरुलाई मंगलबार नै शव जिम्मा लगाउने तयारी भएको पनि रोकाले जनाए ।