काठमाडौं । डा. गोविन्द केसीलाई प्रहरीले पक्राउ गरी रातारात हिरासतमा राखेकोमा प्रधानमन्त्री शेरबहादुर देउवाले असन्तुष्टि व्यक्त गरेका छन् । प्रहरीले आफूलाई थाहै नदिई डा. केसीलाई गिरफ्तार गरेको प्रधानमन्त्री देउवाको गुनासो छ ।
‘प्रधानमन्त्रीज्यूलाई थाहै नदिई डा. केसीलाई पक्राऊ गरियो,’ प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले भने, ‘डा. केसीलाई त्यसरी अपराधीलाई जस्तै गरेर पक्राउ गरिएकोमा प्रधानमन्त्रीज्यू असन्तुष्ट हुनुहुन्छ ।’
प्रधानमन्त्री देउवाको भनाइ उधृत गर्दै परियारले अगाडि भने, ‘डा केसीलाई भोलि बिहान ९ बजे अदालतमा उपस्थित हुन सर्वोच्चले भनेको अवस्थामा राति नै पक्राऊ गर्न कुनै जरुरी थिएन, बिहान ९ बजे उहाँ आफैं अदालत जान सक्नुहुन्थ्यो ।’
डा. केसीको गिरफ्तारीबारे जानकारी नभएको बताउने प्रधानमन्त्री देउवा आफैं गृहमन्त्रीसमेत हुन् । तर, डा. केसीलाई पक्राउ गर्नुअघि आइजीपी वा अरू कुनै पनि प्रहरी अधिकारीले आफूलाई जानकारीसम्म नदिएको देउवाको गुनासो छ ।
प्रधानमन्त्री देउवाले यसबारे आइजीपी प्रकाश अर्याललाई पनि सोधखोज गरेको र डा. केसीलाई सकेसम्म तत्काल रिहा गर्ने पहल थालेको प्रेस संयोजक परियारले संकेत गरे ।