इलाम/ लगानी अनुसारको मूल्य नपाएर अधिकांश किसानको अदुवा बारीमै कुइँदै गएको बेला अदुवा प्रशोधन गरेर यहाँकी एक महिलाले लाखौँ आम्दानी लिइरहेकी छन् । इलाम नगरपालिका–७ की उषा निरौलाले अदुवाको विभिन्न परिकार बनाई त्यसको बिक्रीबाट लाखौँ आम्दानी गरेकी छिन् । उनले अदुवा प्रशोधनबाटै आफ्नो परिवार मात्रै पालेका छैनन्, नगरपालिकाभित्रै जग्गा किनेर सामान्य घर जोड्नुका साथै छोरीलाई काठमाडौँ राखेर पढाउँदै छिन् । विसं २०६८ बाट सामान्य तालीम लिएर अदुवा प्रशोधन थालेकी उषाले अदुवाबाट क्यान्डी, तितौरा, मिक्चर, सर्वत, सुठो र अचार बनाउने गर्छिन् । अदुवाबाट विभिन्न परिकार बनाएर जीवन चलाउँदै आएकी उनले प्रशोधन केन्द्रमै मात्रै मासिक पाँच क्विन्टल अदुवा खपत हुने गरेको बताउँछिन् । “अहिले प्रशोधन केन्द्रमा पाँच क्विन्टल अदुवा खपत हुन्छ, यो सबै अदुवा अग्र्यानिक मात्रै ल्याउने गरेकी छु” उषाले भनीन् । उनले वार्षिक ४५ लाख मूल्य बराबरका अदुवाको परिकार बिक्री गरी त्यसबाट करिब १८ लाख नाफा कमाउछिन् । “व्यवसायिक रूपले खेती गर्ने ठूला किसानले रासायनिक विषादीको प्रयोग गर्छन्” उनी भन्छिन्– “त्यही भएर साना किसानबाट मात्रै अदुवा किन्छु ।” विभिन्न समस्याले गर्दा शुरुवाती समयमा अनावश्यक झण्झट खेपेकी उनले यसको व्यवसाय बढेसँगै आम्दानी मात्र नभई प्रशंसा पनि बटुल्ने गरेको सुनाउछिन् । “जति बेला मैलै यो उद्यम शुरु गरेँ, त्यति बेला त छिमेकीबाट पनि सहयोग पाइन्, राम्रो बजारीकरण पनि नभएको बेला भएकाले अन्य मानिसलाई पनि यसका बारेमा बुझाउन समस्या पर्यो,” उषा भन्छिन्–“अहिले पनि बजार मूल्य त राम्रो पाएको छैन तर बनाइसकेका परिकार खेर चाँहि फाल्नु पर्दैन ।” यस्ता वस्तुको माग स्वदेशमा भन्दा पनि विदेशमा बढी हुने गरेको अनुभव उनको छ । “यहाँ त अहिले पनि अदुवाको सर्वतभन्दा मानिसले बुझ्दैनन् तर बाह्य पर्यटकका लागि भने यही सर्वत राम्रो छ,” उषाले भनिन् । अदुवाबाट निर्मित परिकार इलाम बजार र फिक्कलबाटै नेपालका विभिन्न शहर तथा विदेशमा समेत निर्यात हुने गरेका छन् । यो व्यवसायमा उनले दुई जना महिलालाईसमेत रोजगारी दिएकी छिन् । “आफू मार्केटिङमा हिँडिरहनुपर्छ, त्यही भएर मान्छे राखेकी छु,” उनले भनिन् “उनीहरूलाई कम्पनीकै मूल्यअनुसारको तलब छ ।” अकबरे, अमलाबाट पनि परिकार बनाउने गरेकी उषाको मुख्य उद्यम भने अदुवाकै परिकार हो । नेपालमा भने यस्ता वस्तुबारेमा जानकारी नभएकाले बजारीकरणमा समस्या हुने गरेको उनले बताइन् । “यहाँका मान्छे बाहिरी अखाद्य पदार्थ भने खान्छन् तर हामीले अग्र्यानिक तवरले बनाएका परिकार भने खाँदैनन्” उनले भनिन् । विभिन्न संघ संस्थाबाट राम्रो सहयोग पाएकी उषालाई यो उद्यमका लागि उन्नति परियोजनाले पनि सहयोग गर्ने आश्वसन दिएको छ । “उन्नति परियोजनाले पनि मेसिन खरिदका लागि सहयोग गर्ने भन्ने कुरा चाँहि छ । यदी सहयोग गर्यो भने अझै व्यवसाय बढाउने तरखरमा छु” उनले भनिन् । “हामीले खटेर यस्ता व्यवसाय गर्ने हो भने श्रमिकका रूपमा बाहिरी देश जानु पर्दैन र अदुवाजस्ता वस्तुको भाउ आएन भनेर चिन्ता पनि गर्नुपर्दैन” उनले बताइन्। जिल्लामा वार्षिक ४५ हजार मेट्रिक टन अदुवा उत्पादन भइरहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । अदुवाको मूल्य वृद्धि नहुँदा कच्चा रूपमा नै भारत निकासी भइरहेको छ ।