काठमाडौं / पार्टी स्थापनासँगै टुटफुट र गुटको शृंखलाबाट गुज्रँदै राजनीतिमा २८ वर्ष पार गरेको राप्रपाको दलीय उपस्थिति अब संघीय संसद्मा देखिने छैन ।पञ्चायतको खम्बाका रूपमा परिचित ‘राजावादी’ नेताहरूले आफ्नो राजनीतिक अस्तित्व बचाइराख्न ०४७ सालमा राप्रपा गठन गरेका थिए । पार्टी शीर्षस्थ नेताहरूबीच व्यक्तित्वको टकराव, नेतृत्वका लागि होडबाजी र सत्तास्वार्थका कारण स्थापनासँगै विभाजनको सिकार बनेको राप्रपा पछिल्लो समय एकताको ६ महिना नपुग्दै फेरि विभाजित भयो । र, विभाजित अवस्थामै निर्वाचनमा होमियो ।

राप्रपा २७ वर्षमा पाँच पटक विभाजन

०४७ सालमा गठन भएको राप्रपा औपचारिक घोषणा हुनुअघि नै विभाजन भयो । ०४७ साल जेठ १५ गते राप्रपा चन्द र राप्रपा थापा समूह गरी दुई समूह बन्यो । ०४८ सालमा एकीकृत भएको राप्रपा फेरि ०५४ सालमा विभाजित भयो । ०५१ सालको मध्यावधि निर्वाचनमा १९ सिट जितेको राप्रपाले सरकारको नेतृत्वसमेत गर्‍यो । पार्टीका नेताद्वय सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री बने तर विभाजनसँगै ०५६ सालको आमनिर्वाचनमा थापा पक्षले ११ सिट जित्यो भने चन्द पक्षले एक सिट पनि नजितेपछि ०५७ सालमा फेरि दुई पार्टी एक भए ।

राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनका बेला ०६२ सालमा कमल थापाले पार्टी विभाजन गर्दै राप्रपा नेपाल गठन गरे । जुन राप्रपाको तेस्रो फुट थियो । लगत्तै राप्रपाभित्र पनि थापा र पशुपतिशमशेर राणाबीच असन्तुष्टि बढ्दै जाँदा थापाले राष्ट्रिय जनशक्ति पार्टी गठन गरे । ०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा तीनै दलले नराम्रो पराजय भोगेपछि फेरि एकीकरण अभ्यास सुरु भयो । ०७० सालमा राप्रपा र राजपाबीच एकीकरण भयो । ०७३ मंसिरमा राप्रपा र राप्रपा नेपालबीच एकता भयो । तर, सरकारमा सहभागिताको विषयलाई लिएर साउनमा अध्यक्ष कमल थापा र वरिष्ठ नेता राणाबीच विवाद बढ्दै गएपछि राणाले राप्रपा प्रजातान्त्रिक गठन गरे ।