काठमाडौं । भारतको बेश्यालयमा नेपाली चेली बेचेको घटनामा  नुवाकोट  दुप्चेश्वर गाउँपालिका वडा नं १ घ्याङफेदीका वडाध्यक्ष सुनबहादुर तामाङ पक्राउ परेका छन् ।

तामाङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले मंगलबार दिउँसो पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक वसन्त कुँवरले दिएको जानकारी अनुसार सिआइबीले तामाङलाई वडा कार्यालय घ्याङफेदीबाट  नियन्त्रणमा लिएको थियो  ।

तामाङविरुद्ध नुवाकोट जिल्ला अदालतमा मानव बेचबिखन तथा ओसारपसारविरुद्धको मुद्दा चलिरहेको छ । भारतको वेश्यालयबाट फर्केकी एक महिलाले दर्ता गराएको मुद्दामा पाँच लाख धरौटी राखी तामाङ एक वर्ष अघि रिहा भएका थिए ।

मुद्दाको अन्तिम किनारा भने लाग्न बाँकी रहेको छ । गत वैशाख ३१ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा तामाङ नेपाली कांग्रेसबाट वडाध्यक्ष पदमा निर्वाचित भएका थिए ।