मोरङ/ किरात समुदायको मौलिक साँस्कृतिक पक्षलाई झल्काउन दक्षिणी इलामको चुलाचुलीमा २ दिने विशेष कार्यक्रम सम्पन्न भएको छ ।

‘किराँत संस्कार संस्कृति हाम्रो पहिचान, चेतनशिल समाज निर्माण गर्ने हाम्रो अभियान ’ भन्ने नाराका साथ किरात हाङसाम साम्यो पान्जुम्भोले किराँत विशेष मौलिक साँस्कृतिक प्रस्तुतिका साथै साहित्य र मनोरञ्जनात्मक कार्यक्रम समेत सम्पन्न गरेको हो ।

चुलाचुली गाउँपालिका ४ शनिबारेस्थित किरात चोत्लुङ प्राविको खेल मैदानमा आयोजित कार्यक्रमको पहिलो दिन किरात लिम्बू जातिको आदिमकालीन भेषभुषा प्रदर्शन, च्याब्रुङ नाच, नेवार जातिको लाखेनाच, प्रस्तुत भएको थियो । अन्तिम दिन चैत केनारा नाच, (किराँत आदिम पुरखौलीहरूको भावभङ्गी, श्रृङ्गार, भेषभुषा ) सम्बन्धी र्याम प्रदर्शन भयो ।

कार्यक्रम व्यस्थापनमा द हाइलेण्ड आर्टस, कुसाङ मुन्धुममिक तथा भेषभुषा डिजाइनमा ओत् प्रिन्टिङ प्रेस लगायत संस्थाले सहयोग गरेका छन् ।

सुजन आङबुहाङको मुख्य कोरियोग्राफरमा सृष्टि खापुङलोजी र गुल्शन आङबुहाङ समेतले सहयोग गरेको कला तथा भेषभूषा निर्देशक विक्रम फागो वनेमले वताए  । कार्यक्रमस्थलमा घर सहितका आकर्षक सेट निर्माण गरी मौलिक साँस्कृतिक प्रस्तुतिका लागि मोडेलका रुपमा युवा युवतीहरु सामेल थिए । फागो सहितका साँस्कृतिक पक्षका अभियन्ता युवाहरुको अवधारणामा संस्थाले यसखाले कार्यक्रम विशेष गरी किरात धार्मिकस्थल लारुम्वामा गर्दै आएको थियो ।