वीरगञ्ज । वीरगञ्ज महानगरपालिका– २२ स्थित पटेलनगरमा रहेको सुपर ग्यास उद्योगमा भीषण आगलागी भएको छ । उद्योगमा बिहान सवा ६ बजेतिर आगलागी भएको हो । आगलागीमा परी २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । उद्योगभित्र कति मानिस थिए भन्ने अहिलेसम्म खुल्न सकेकाे छैन । आगो नियन्त्रणका लागि गएको वीरगञ्ज महानगरपालिकाको एउटा दमकलसमेत जलेको छ । दमकल जल्दा यसका फायर म्यान सविन नेपाल घाइते भएका छन् । उनकाे गण्डक अस्पतालमा उपचारका लागि लगिएकाे छ । दमकलमा रहेका हवलदार मधुसुदन मिश्र र फायरम्यान यादवप्रसाद अधिकारी सम्पर्कविहीन छन् । आगलागी फैलँदै गएपछि नियन्त्रण बाहिर छ । ग्यास सिलिण्डर पड्किरहेकाले अग्नी नियन्त्रणहरुसमेत नजिक जान सकेका छैनन् । उनीहरू अागाे लागेकाे स्थानभन्दा २-३ सय मिटर परै छन् । ग्यास सिलिण्डर पड्किँदा २ वटा शव उछिट्टिएर बाहिर अाएकाे प्रत्यक्षदर्शीले बताएका छन् । घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरीको टोली पुगे पनि अागाे नियन्त्रणमा लिन सकिएकाे छैन । आगलागीको कारण खुलेको छैन । सारिँदै बस्तीका बासिन्दा आगालागी फैलने जोखिम बढेपछि ग्यास उद्योगनजिक रहेको इटिहाई बस्ती खाली गराइँदै छ । यो बस्ती आगलागी भएको उद्योगभन्दा करिब ५ सय मिटरको दूरीमा छ । उनीहरुलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको प्रहरीले जनाएको छ । उद्योगनजिक अन्य उद्योगहरु पनि छन् । ती उद्योगहरुमा पनि आगलागी फैलने खतरा बढेपछि सतर्कता अपनाइएको छ ।