रासस/ बुद्धशान्ति गाउँपालिका–७ मा रहेको धारागोला पर्यटकीय गन्तव्य बन्दै गएको छ । आन्तरिक पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यका साथ २०७१ सालमा ‘धारागोला महोत्सव’ आयोजना गरिएको थियो । पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न स्थानीय युवा सक्रिय भएसँगै धारागोला पर्यटकीय गन्तव्य बन्दै गएको छ । आदिवासी जनजातीको सघन बसोवास रहेको र मेची राजमार्ग नजिक रहेको धारागोलाबाट तराईको मनोरम दृश्य हेर्न सकिन्छ । हाल त्यहाँ पाँच तलाको भ्यूटावर निर्माण भइरहेको छ । भ्यूटावर निर्माण समितिका अध्यक्ष निरकुमार सुवेदीका अनुसार हालसम्म ६० प्रतिशत काम सम्पन्न भएको छ । सो भ्यूटावर निर्माण गर्न आव २०७१–७२ मा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममार्फत् १२ लाख, आव २०७२–७३ मा १८ लाख र आव २०७३–७४ मा पर्यटन विकास बोर्डबाट १० लाख बजेट विनियोजन गरिएको थियो । चालु आवमा भ्यूटावरका लागि रु पाँच लाख विनियोजन गरिएको छ । यहाँ दैनिक ५० देखि १०० जना आन्तरिक पर्यटक दृश्यवालोकन गर्नका लागि आउने गरेका छन् । साहित्यकार मुनाराज शेर्माको परिकल्पनाअनुसार आन्तरिक पर्यटनको प्रर्वद्धन गर्ने उद्देश्यले २०७१ सालमा प्रथम धारागोला महोत्सवको आयोजना गरिएको थियो ।