बलिउड क्वीन अर्थात कंगना रानौत फिल्म ‘मणिकर्णिका’ को छायांकनमा व्यस्त छन् । कंगनाले आगामी महिना फिल्मको छायांकन सम्पन्न गर्ने बताइएको छ ।

फिल्म ‘मणिकर्णिका’ को छायांकन सँगसँगै उनी आफ्नो नयाँ फिल्मको तयारीमा पनि जुटेकी छन् ।

समाचार पत्र मिड–डेका अनुसार कंगना आफ्नो आगामी फिल्म फिल्मको नाम  ‘मेन्टल’ राख्न चाहन्छिन् । तर फिल्मको यो नामको ‘कपीराइट’ बलिउड ‘दबंग’ सलमान खानसँग रहेको छ । सलमान खानले ‘मेन्टल’ को ‘कपीराईट’ आफ्नो फिल्म ‘जय हो’ का लागि राखेका थिए । तर पछि सलमानले यो फिल्मको नाम परिवर्तन गरेर ‘जय हो’ राखेका थिए ।

कंगनाको यो नयाँ फिल्म एक ‘मर्डर मिस्ट्री’ मा आधारित हुने छ । कंगना ११ वर्षीय फिल्मी करियरमा पहिलो पटक ‘मर्डर मिस्ट्री’ मा काम गर्न गइरहेकी छन् । यही कारण उनी यो फिल्ममा कुनै पनि कमी नहुन दिने सोचमा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

कंगनाले चाँडै सलमान खानसँग भेटेर ‘मेन्टल’ को ‘कपीराइट’ आफ्नो नाममा गर्ने तयारी पनि गरेकी छन् । यो फिल्मलाई निर्माता शैलेश सिँहले निर्माण गर्ने भएका छन् ।