रासस/ सप्तरीको छुट्टाछुट्टै ठाउँमा सोमबार आगलागी हुँदा करिब २० लाख मूल्य बराबरको क्षति भएको अनुमान गरिएको छ
महदेवा गाउँपालिकामा आगलागी हुँदा स्थानीय दिनेश यादव र रघु यादवको एक–एक वटा घर जलेको र आगलागीबाट नगद तथा जिन्सी गरी ३ लाख मूल्य बराबरको धनमाल क्षति भएको हनुमाननगर इलाका प्रहरी कार्यालयले जनाएको छ ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका–६ कोचाबखारीमा आगलागी हुँदा कपिलदेव राम र इनरदेव रामको घर जलेको छ । आगलागीबाट अन्नपात, लत्ताकपडा, भाँडावर्तन गरी करिब रु तीन लाख मूल्य बराबरको क्षति भएको पीडितले जनाएका छन् ।
त्यस्तै सप्तरी जिल्लाको रुपनी गाउँपालिका–५ स्थित बसबिट्टीमा आगलागी हुँदा रु १४ लाख मूल्य बराबरको धनमाल क्षति भएको छ ।
स्थानीय लक्ष्मण यादवको घर छेउमा फालेको खरानीको झिल्कोबाट सल्केको आगोले निजका दुई वटा घर र लत्ताकपडा, भाँडावर्तन, नगद २ लाख, सुनचाँदीका गरगहना गरी करिब १४ लाख बराबरको क्षति भएको रुपनी इलाका प्रहरी कार्यालयले जनाएको छ ।