निर्धन उत्थान बैंकले आफ्नो स्वामित्वमा रेहको ग्रामिण विकास बैंकको संस्थापक सेयर दोस्रो पटक लिलामीमा निकाल्दा मूल्य घटाएपछि यसअघि लिलामीको सेयर सकार्ने लगानीकर्ता जिल्लिएका छन् । पहिलो पटक ३ सय रुपैंयाभन्दा माथिको मूल्यमा सेयर लिलाममा राखिएको थियो । उक्त मूल्यभन्दा बढी मूल्यमा सेयर खरिद गर्नेहरु अहिले २ सय रुपैंयामा सेयर निष्काशन भए पछि आक्रोसित बनेका छन् ।
दोस्रो बजारमा कारोबार नहुने भएकाले निर्धन उत्थानले क्रस होल्डिंगमा रहेको नेपाल ग्रामिण विकास बैंकको संस्थापक सेयर बिक्री गर्न लागेको हो । यस क्रममा गत कात्तिक २८ गते निर्धन उत्थानले क्रस होल्डिङमा आफुसँग रहेको नेपाल ग्रामिण विकास बैंकको १ लाख ९१ हजार ९ सय ९२ कित्ता संस्थापक शेयर लिलाममा राखेको थियो । न्युनतम ३ सय रुपैंयासम्ममा पहिलो पटकको लिलामीमा ४६ हजार ४२० कित्ता सेयर मात्र विक्री भएको थियो । त्यस बेला बिक्री नभएको १ लाख ४५ हजार ५७२ कित्ता सेयर न्यूनतम २ सय रुपैंयाको दरले मंसिर १२ गतेदेखी लिलामीमा राखिएको हो ।
अघिल्लो लिलामीमा न्यूनतम ३०० रुपैयाँ भन्दा बढी रकम कबुलेर ४६ हजार ४२० कित्ता सेयर सकारेरका लगानीकर्ताहरु कम्पनीले मूल्य घटाएर बाँकी सेयर लिलामीमा राखेपछि जिल खाएका हुन् । उक्त सेयर सकारेका केही लगानीकर्ताले सेयर लिलामीको नाममा निर्धन उत्थानले लगानीकर्तालाई फसाएको आरोप समेत लगाएका छन् ।
यता बैंकले भने आफ्नो राष्ट्र बैंकको निर्देशन अनुसार आफ्नो क्रस होल्डिङमा रहेको सेयर बिक्रीमा ल्याएको बताएको छ । निर्धन उत्थानका कम्पनी सचिव राम बहादुर चौधरीले पहिलो लिलामीमा सबै सेयर बिक्री नभएपछि मूल्य घटाएर लिलामीमा राखिएको बताए । राष्ट्र बैंकको निर्देशन अनुसार हामीले यो सेयर जसरी पनि बिक्री गर्नुपर्नेछ । यसकारण मूल्य घटाईएर बेच्न लागिएको हो । नियम भन्दा बाहिर हामी गएका छैनौ, उनले भने ।
यता धितोपत्र बोर्डले पनि कम्पनीले नियम संगत रुपमा आफ्नो स्वामित्वमा रहेको सम्पति बिक्री गर्न पाउने बताएको छ । तर अझै धेरै जसो बैंक तथा वित्तीय संस्थासँग क्रस होल्डिगंको सेयर बाँकी रहेका कारण पटक पटक फरक मूल्यमा लिलामीको होडबाजी चल्न सक्ने देखिन्छ । यसले लगानीकर्ताहरु सेयर लिलामीमा प्रवेश गर्दा फसिने डरले हतोत्साहित हुने देखिन्छ ।