
तेह्रथुम/प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा कम्युनिष्ट शासन आएमा लोकतन्त्र नै खतरामा पर्ने बताए । प्रधानमन्त्री देउवाले कम्युनिष्ट मिलेर देशमा अधिनायकवाद ल्याउन खोजिरहेको बताएका छन् ।
तेह्रथुमको म्याङलुङमा नेपाली कांग्रेसले सोमबार आयोजना गरेको बृहत चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले वाम गठबन्धनका कारण नेपालको लोकतन्त्र र प्रजातन्त्र दुवै खतरामा पर्न लागेको बताए । देशमा कम्युनिष्ट शासन आए लोकतन्त्र नै खतरामा पर्ने र नेपाली जनताका हकअधिकार खोसिने प्रधानमन्त्री देउवाले बताए । नेपालका कम्युनिष्टहरुले बनेको कुरा विगार्ने र भताभुङग मात्रै पार्ने गरेको आरोप प्रधानमन्त्री देउवाको छ । एमाले र माओवादी पार्टीसँग देशको विकास गरेको र आर्थिक समृद्धि ल्याएको हैन, बिगार्ने र भत्काउने कामको अनुभव बढि भएको प्रधानमन्त्री देउवाको भनाई छ । बाम गठबन्धनको बहुमत पुग्यो भने तिनले धर्म, संस्कृति, परम्परा, इतिहास र बनेका सबै कुराहरु तहसनहस बनाउने बताए ।
नेपालमा कम्युनिष्ट शासन आए नेपाली जनताले स्वतन्त्रपूर्वक हिँडडुल गर्ने र बोल्ने अधिकार समेत खोसिने भन्दै आसन्न निर्वाचन मार्फत नेपालको भविष्य गम्भीर मोडमा पुग्न लागेको बताए । लोकतन्त्र रक्षाका लागि लोकतान्त्रिक शक्ति एकजुट भएर संविधानको रक्षा र त्यसको कार्यान्वय अहिलेको मुख्य चुनौती रहेको प्रधानमन्त्री देउवाले बताए । चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले तेह्रथुमको बसन्तपुर म्याङलुङ सडक कालोपत्रे गर्न काम तत्कालै हुने बताउदै तेह्रथमुको बिच भाग भएर निर्माण भइरहेको मध्यपहाडी लोकमार्गलाई तीव्रता दिने धारणा राखे ।
सभालाई सम्बोधन गर्दै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सस्तो नारा दिएर गरिब जनतालाई झुक्याउनमा एमाले र माओवादीका कार्यकर्ता माहिर रहेको आरोप लगाए । चुनाव मार्फत नेपालमा कम्युनष्टि शासन हावी हुन लागेको भन्दै लोकतन्त्र रक्षाका लागि सबैलाई एकजुट हुन आग्रह गरे । नेता पौडेलले तेह्रथुमको विकासका लागि तमोर जलाशाययुक्त जलविद्युत आयोजना निर्माण, जिल्ला भित्र निर्माण भएका सडक सञ्जालको स्तरोन्नती, २८ प्रजातीका गुराँस फुल्ने तीनजुरे मिल्के जलजले क्षेत्रको पर्यटकीय विकास, वैज्ञानीक कृषि प्रणालीको विस्तार जस्ता विकासको काम कांग्रेस नेतृत्वको सरकारले गर्न लागेको बताए ।
सभालाई भौतिक पुर्वाधार तथा यातायात राज्य मन्त्री एवं प्रदिनिधिसभा प्रत्यक्ष उम्मेदवार सीता गुरुङले आफूले जितेमा पाँच वर्ष भित्र तेह्रथुमलाई नमुना जिल्ला बताउने बताईन् । कार्यक्रममा पुर्व सांषद गणेश विमली, तुलसी सुव्वा, प्रदेशसभा उमेदवारहरु गोविन्द ढुंगाना, विजय सम्वाहाम्फाम्फे लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।