लहान/ सिरहाको पश्चिमवर्ती कल्याणपुर नगरपालिका ५ निर्दनाघाटमा चेकजाँचमा रहेका प्रहरीलाई गोली हानेको आरोपमा ३ जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजन भेटवालका अनुसार गोली हानेर धनुषातिर फरार भएकाहरुको खोजी गर्ने क्रममा धनुषा प्रहरीको समन्वयमा सोमबार ३ जनालाई पक्राउ गरेको जानकारी दिए। प्रहरी नायव उपरीक्षक भेटवालले धनुषाबाट ३ जनालाई पक्राउ गरेको पुष्टि गरे पनि अनुसन्धानको क्रममा रहेकाले तत्काल नाम भने खुलाउन नसक्ने बताए।

धनुषाबाट पक्राउ परेका ३ जनालाई सिरहा प्रहरीमा सोमबार नै बुझाउने तयारी रहेको उनले बताए। सिरहा र धनुषाको सीमाको रुपमा रहेको कमला नदीको पूर्वी तटबन्धमा पर्ने निर्दनाघाटमा सवारीसाधन चेकजाँचको क्रममा आइतबार दिउँसो अज्ञात समूहले गोली प्रहार गर्दा एक म्यादीसहित दुई प्रहरी घाइते भएका थिए।

घाइते प्रहरीलाई तत्काल उद्धार गरी कर्जन्हानस्थित फूलकुमारी महतो मेमोरियल अस्पतालमा उपचार गरी थप उपचारका लागि राजधानी काठमाडौं लगिएको छ। घाइते प्रहरी जवान करिब ३३ वर्षीय मायाराम यादव र म्यादी प्रहरी आदर्श कुँवर प्रहरी चौकी भेडियामा कार्यरत छन्।