मंसिर /ताप्लेजुङ सदरमुकाममा रहेका भानु उच्च माविको मतदान स्थलमानै बम बिष्फोट भएको छ । आईतबार हुन लागेको प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका लागि मतदान केन्द्र निर्माणमा कर्मचारी जुटिरहेकै समयमा बम विस्फोट भएको प्रहरीले बताएको छ ।
मतदान गर्ने मतदाताको लागि लाईन मिलाउन बाँस गाड्ने क्रममा भुईमुनि गाडिराखेको बम विस्फोट भएको सो मतदान केन्द्रका मतदान अधिकृत कुवेर नेपालीले बताए ।
ठुलो आवाज सहित बम विस्फोट भए पनि मानविय क्षति भने नभएको तर नजिकै मतदाता परीचय पत्र वितरण गरीरहेका कर्मचारीको श्रवण शक्तिमा भने समस्या आएको अधिकृत नेपालीको भनाई छ । विद्यालयको भवन अघि खेलमैदानमा म्यादि प्रहरी, कर्मचारी सहित सुरक्षा निकाय मतदान केन्द्र निर्माणमा जुटिरहेको समयमा भुईमुनि गाडेको भडु (खाना पकाउने भाँडा) बम विस्फेट भएको प्रहरीले बताएको छ ।
सो बम पहिलेनै गाडिएको र अहिले खन्ने क्रममा प्रेसर हुँदा पटेकिएको हुन सक्ने प्रहरीको भनाई छ । यस अघिको स्थानिय तहको निर्वाचनमा सोहि स्थानमा मतदाता उभिएर लाईनमा बस्ने गरी केन्द्र निर्माण गरीएको र अहिले पनि सोहि अनुसार निर्माण हुने आसामा चुनावको बहिस्कारमा रहेकाले बम राखेको हुन सक्ने प्रहरी निरीक्षक होमनाथ दाहालले जानकारी दिए ।
यता बम चुनाव बहिस्कारमा रहेको विप्लब नेतृत्वको नेकपाले राखेको आसंका गरीए पनि नेकपाका ताप्लेजुङ ईन्चार्ज आसिसले बम विस्फोटका विषयमा आफुलाई जानकारी नभएको र आफुहरु सो घटनामा संलग्न नभएको टेलिफोनमा बताए ।
काम गरीरहेको समय बम पट्किए पछि सबै काम छाडेर कर्मचारी कार्य स्थलबाट बाहिर निस्किएका छन् । बम विस्फोटका कारण कर्मचारीमा मानसीक रुपमा काम गर्न तयार नभएको र केहि कर्मचारीको श्रवण शक्तिमा समस्या भएका कारण सुरक्षा निकाय र मुख्य निर्वाचन अधिृतको कार्यालयले काम गर्ने वाताबरण तयार नभए सम्म काममा फर्कने अबस्था नरहेको सो स्थानमा खटिएका मतदान अधिकृत कुबेर नेपालीले बताए ।
अहिले बम विस्फोट भएको स्थानको नेपाली सेना, ससस्त्र प्रहरी, नेपाल प्रहरीको टोलिले अनुसन्धान गरीरहेको छ ।