इटहरी/ सडक वत्ति खरिदमा अनियमितता भएको विषयमा विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा समाचार प्रकाशन भए पछि इटहरी उपमहानगरपालिकाले आन्तरिक छानविन समिति गठन  गरेको छ । शुक्रबारको नगरकार्यपालिकाको बैठकले तत्कालका लागि सम्पूर्ण खरिद प्रकृया पनि बन्द गरेको छ ।

उपमहानगर कार्यपालिकाको शुक्रबारको बैठकले लेखा समिति संयोजक दिपक गौतमको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको छ । सो समितिले सडक वत्ती, फर्निचर, स्टेशनरी लगायतको सामाग्री खरिद प्रकृयाको बारेमा अध्ययन गरी १५ दिन भित्र प्रतिवेदन बुझाउने पनि मेयर चौधरीले बताए । समितिको सदस्यमा जनप्रतिनिधी र कर्मचारीहरु चन्द्रप्रसाद भट्टराई, भगवानलाल शाहु सुडी, रमेशप्रसाद चौधरी, इन्दिरा राई, गणेशकुमार खत्री र सदस्य सचिवमा प्रशासकीय अधिकृत सञ्जय अधिकारी छन् । बिना प्रतिस्पर्धा सडक वत्ती गरी लाखौं रुपैयाँ अनियमितता भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय इटहरीले अनुसन्धान अघि बढाई रहेका बेला उपमहानगरपालिकाले आन्तरिक रुपमा छानबीन समिति गठन गरेको हो । सडक वत्ती खरिदमा लाखौं रुपैयाँ अनियमितता भएको समाचार आए पछि इटहरीस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि अनुसन्धान अघि बढाएको छ । उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले शुक्रबार पत्रकार सम्मेलन गरीसडक वत्ती खरिद गरेको भए पनि रकम भुक्तानी गरेको आफूलाई थाहा नभएको भन्दै सम्पूर्ण दोष कर्मचारी तर्फ फर्काएका छन्  ।

‘अहिले ९० लाख रुपैयाँ भन्दा बढी भुक्तानी भएको थाहा पाएँ’ उनले भने ‘हामीले खरिद गर्नु भने पनि भुक्तानी दिने विषयमा कुरै भएको छैन ।’ व्यापारीहरुले बजार दरमा डेण्डर नहाल्ने र बढी मुल्यमै व्यापारीहरुले डेण्डर हाल्ने गरेको बताउँदै उनले भने ‘यसमा व्यपारीहरुको पनि सेटिङ हुन सक्छ ।’ सडक वत्ती खरिदमा भ्रष्टाचार भएकै हो भन्ने विषयमा सोधिएको प्रश्नमा उनले छानविन बाट खुल्ने भन्दै भ्रष्टाचार भएको आशंका व्यक्त गरे । बल्ब खरीद गर्दा कोटेशनबाट उपयुक्त हुने भनी स्टोर प्रमुखले टिप्पणी उठाएको र त्यसलाई कार्यकारी अधिकृतले सदर गरेकोका पनि पत्रकार सम्मेलनमा मेयर चौधरीले बताए । उनले सडक वत्ती खरिद र वील भुक्तानीमा कार्यकारी अधिकृत लेखा अधिकृत र स्टोर किपर दोषी रहेको बताए ।

उपमहानगरले कार्यालयबाट हुने सबै खरिद प्रकृयाहरू स्थगन गरेको पत्रकार सम्मेलनमा उपमेयर लक्ष्मी गौतम जानकारी दिइन् । विहीबार नेपाली काँग्रेस निकट वार्ड अध्यक्षहरुले  सडक वत्ती खरिदमा अनियमितता भएको आशंका गर्दै छानविन गर्न माग गरेका थिए । १२ वटा वार्डका अध्यक्षहरुले पत्रकार सम्मेलन गरी अख्तियारले अनुसन्धान थालि सकेको सो विषयको टुङ्गोमा पु¥याउन माग गरेका थिए । यता, अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालयले फाइल र बिलहरुको अध्ययन गरेर भ्रष्टाचार छानविन गरिने जनाएको छ । गत साउन १ गतेदेखि कात्तिक ७ गतेसम्म इटहरी उपमहानगरपालिकाले सडक वत्ती बापत ९० लाख रुपैयाँ भन्दा बढी रकम भुक्तानी गरेको पाइएको छ । अघिल्लो आर्थिक बर्षमा बल्ब खरीद गरेको मूल्य पनि बजार भाउँभन्दा महंगो नै भएको बताउँदै मेयर चौधरीले ‘छानबीन गर्दा कर्मचारी होस् वा व्यापारी कारबाहीको भागीदार हुने दोहो¥याए । यता, उद्योग वाणिज्य संघ इटहरीले शुक्रबार अलगै पत्रकार सम्मेलन गरि इटहरी विद्युतीय व्यवसायीसँग रेट माग गरि त्यही अनुसार सिफारिस मात्र गरेर पठाएको जनाएको छ ।   व्यापारीसँग अघिल्लो आर्थिक बर्षको कोटेसन दर मागेर चालु आर्थिक बर्षमा बल्ब खरीद गर्नु पनि उपमहानगरपालिकाकै त्रुटी भएको संघका पदाधिकारीले पत्रकार सम्मेलन गरी बताएका छन् । नगरपालिकाले उद्योग वाणिज्य संघ, जिल्ला दररेटका आधारमा सामान खरिद गर्ने गरेको जनाएको छ ।