गिरावटको क्रम रोकिएर बजार परिसुचक नेप्से दोस्रो दिन पनि उकालो लागेको छ । यद्यपि बजार घट्न छोडे पनि कारोबार रकममा भने गिरावट देखिन थालेको छ । विगतमा बजार बढ्दा कारोबार रकममा पनि उल्लेख्य सुधार हुने गरेको थियो । यसले लगानीकर्ता झनै अन्यौलमा परेका छन् ।
अलिकति बजार बढेको अनुभूति हुनासाथ बिक्री चाप धेरै आउने प्रवृत्तीका कारण पछिल्ला दिनमा लगानीकर्ता सशंकित हुन थालेका छन् । बुधबार पनि बजार परिसूचक ८.०२ अंकले उकालो लागेको छ । तर कारोबार रकममा आएको गिरावटले लगानीकर्ता अझै पर्ख र हेरको अवस्थामा रहेको भान हुन्छ । केही दिन अघि मात्र झण्डै एक अर्ब रुपैंयासम्मको कारोबार हुँदै आएको बजारमा बुधबार ३४ करोड ८२ लाख रुपैंयाको मात्र सेयर किनबेच भएको छ । मंगलबार ३५ करोड ८ लाख रुपैंयाको सेयर किनबेच भएको थियो ।